Shittalpati
प्रेस युनियन पाल्पाद्वारा पत्रकारलाई ज्याकेट

पाल्पा । नेपाल प्रेस युनियन पाल्पा शाखाले युनियनमा आवद्ध जिल्लाका क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ । विश्वभर फैलिएको कोरोना महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको पहिचान र स्वास्थ्य सुरक्षाका लागि युनियनले प्रेस ज्याकेट सहित स्वास्थ्य सामग्री वितरण गरेको हो ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको क्रममा रिर्पोटिङमा थप सहयोग पुग्ने उद्देश्यले प्रेस युनियनका केन्द्रीय सल्लाहकार शिव लम्सालको पहलमा शाखालाई उपलब्ध भएको ज्याकेट, मास्क र सेनिटाइजर क्रियाशील पत्रकारलाई वितरण गरिएको युनियनले जनाएको छ । युनियनलाई १५ थान ज्याकेट उपलब्ध भएको थियो । शनिबार एक कार्यक्रमका बिच युनियनले उक्त सामग्री वितरण गरेको हो । नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सांसद वीरबहादुर राना, तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागरमान महर्जन, युनियनका सभापति भरत शर्माले उक्त सामग्री पत्रकारहरुलाई वितरण गरेका थिए । सामग्री वितरण गर्दै काँग्रेसका सभापति तथा प्रदेश सांसद रानाले आम जनतालाई सूचना प्रवाह गरी सु–सुचित गर्ने कार्यमा जिल्लाका पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले मुलुक परिवर्तका लागि सधैँ अग्रमोर्चमा रहेर काम गर्दै आएका पत्रकारहरु सुरक्षित रहे मात्र नागरिकले सही सूचना प्राप्त गर्न सक्ने हुँदा सुरक्षित भएर पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरे ।

तानसेन ६ का वडा अध्यक्ष महर्जनले पत्रकार समाज परिवर्तनका संवाहक भएकाले सहित र तथ्य सूचना, समाचार सम्प्रेषण गर्नुपर्ने बताए । उनले पत्रकारको सुरक्षाका लागि स्थानीय सरकारले समेत विशेष ध्यान दिने बताए । पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट पत्रकारहरु समेत जोखिममा रहेकाले उनीहरुको स्वास्थ्य र पेशागत सुरक्षालाई समेत ध्यानमा राखेर ज्याकेट र स्वास्थ्य सामग्री वितरण गरिएको युनियनका सभापति शर्माले जानकारी दिए । उनले विषम परिस्थितिमा पनि पत्रकारले जनतालाई सु–सुचित गराउने काममा सक्रिय भूमिका खेलेकोमा पत्रकारलाई धन्यावाद दिए । युनियनका केन्द्रीय सदस्य माधव अर्यालले पत्रकारहरु एकले अर्काको आलोचना गर्नुभन्दा पनि पत्रकारिताको सिद्धान्त र मर्मलाई आत्मसात गर्दै समाज परिवर्तनको दिशामा अगाडि बढ्नुपर्ने बताए । युनियनका पूर्व सभापति तथा वर्तमान सल्लाहकार जगदीश भट्टराईले संगठन बलियो बनाउन युनियनमा आवद्ध पत्रकारहरु क्रियाशील बन्नु पर्नेमा जोड दिए । उनले अगामी दिनहरुमा पत्रकारहरुलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले अनियमिता र भ्रष्टचारका विषयमा सशक्त ढङ्गले कलम चलाउन आग्रह गरे । कार्यक्रम युनियनका सभापति भरत शर्माको अध्यक्षता, उपाध्यक्ष पुष्करराज रेग्मीको स्वागत, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update