Shittalpati
बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्दै

पाल्पा । विश्वभर फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका बैंक तथा वित्तीय संघ सस्थाका शाखाहरु अबदेखि नियमित खुल्ने भएका छन् । लकडाउनका कारण सञ्चालन हुन नसकेका केही बैंक तथा वित्तीय संस्थाका शाखाहरु खुल्ने भएका हुन् ।

चार महिना लामो लकडाउनका बेला बैंकहरुले सेवा जारी राखे पनि सबै शाखा कार्यालयहरु खुला गरेका थिएनन् । खुला गरिएका शाखा कार्यालयहरु पनि दिनभर सञ्चालन हुने गरेका थिएनन् । सहरी क्षेत्रमा सबै अधिकांश शाखाहरु खुलेका भएपनि ग्रामीण भेगका शाखा कममात्रै सञ्चालनमा रहेका थिए । लकडाउन पूर्ण रुपमा हटेसँगै नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सबै शाखा खोल्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार अब नियमित झै पुरै समय सबै शाखाहरुबाट सेवा प्रदान हुने नेपाल बैंकर्स संघले जनाएको छ । लकडाउन खुले पनि सुरक्षाका उपायहरु अपनाउँदै कार्यालय खुलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो । वित्तीय संस्थाहरुमा अन्य कार्यलयहरुमा भन्दा बढी भिड हुने भएकाले पनि राष्ट्र बैंकले भिडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न भनेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’ हटाउन समेत बैंकहरुलाई आग्रह गरेको छ । देशमा संक्रमण बढ्दै गएपछि गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको थियो । लकडाउन पछि बैंक तथा वित्तीय संस्थाले सीमित समय र संख्यामा शाखा मार्फत सेवा प्रवाह गर्दै आएका थिए । सरकारले लकडाउन खोलेसँगै अहिले बैंक तथा वित्तीय संस्थाहरुमा भिडभाड बढ्दै गएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update