Shittalpati
दमकडा माविद्वारा टोल–टोलमा शिक्षण सिकाइ

पाल्पा । लामो समयको कोभिड–१९को महामारीका कारण प्रभावित विद्यार्थीहरुलाई मध्यनजर गर्दै तानसेन नगरपालिका–९ दमकडामा रहेको दमकडा माविले टोल–टोलमै पुगेर विद्यार्थीहरुलाई शिक्षण सिकाइ सञ्चालन गरेको छ । समय परिस्थती अनुसार सिकाइलाई आधुनिक र व्यवहारिक बनाउँदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठनपाठनलाई थप सिर्जनशिल, क्रियाशिल बनाउन विषय शिक्षकहरुको सक्रियतामा शिक्षण कार्यलाई अगाडि बढाएको हो ।

लकडाउनका समयमा दुरशिक्षा मार्फत पठन–पाठन गराउदै आएको विद्यालयले विद्यार्थीहरुमा विभिन्न किसिमका नकरात्मक कुराहरु ल्याउने भएकाले उनीहरुलाई रचनात्मक क्रियाकलापमा सहभागी गराई सर्वाङ्कीण विकास गर्न टोल–टोलमै शिक्षकहरु पठाई पठन पाठन गराउदै आएको छ । लामो समय विद्यालय बन्दभएपछि विद्यालयले वैकल्पिक माध्यमबाट शिक्षा दिन थालेको हो । टोल–टोलमा आएका विद्यार्थीको ज्वरो परीक्षण गरी भौतिक दूरी कायम गरेर शैक्षिक क्रियाकलापमा सहजीकरण गर्ने कार्य गरिएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताए । दमकडा, देउराली, टिन्टीआँप, कुन्सरे, पिप्ले, ठटिया, गोरसोत, सराई लगायतका १२ स्थानमा बालकक्षादेखि १२ कक्षासम्मको पठनपाठन भइरहेको विद्यालयले जनाएको छ । विद्यार्थीहरु टोलमै विद्यालयमा जस्तै पढन पाएपछि खुसी भएका छन् । उनीहरु मास्क, सेनिटाइजर सहित झोला बोकेर टोल–टोलमा उपस्थित हुने गरेका छन् । विद्यालयले हरेक टोलमा ३/४ जना शिक्षक परिचालन गरी दैनिक हाजिर गराई विद्यार्थीलाई शिक्षण गराएको छ । गाउँमै आएर छोराछोरी पढाई दिन थालेपछि अभिभावकहरु समेत उत्साहित भएका छन् । टोलमै आएर पढाई हुनु राम्रो भएको अभिभावक टोपबहादुर घर्तीले बताए । उनले भने, ‘सिकेका कुरा बिर्सिने अवस्थामा पुगेका बालबालिकालाई अप्ठेरो अवस्थामा पनि टोल टोलमा आएर पढाउने काम प्रशंसनीय छ ।’ विद्यालयले स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्रसँग समन्वय गरी विद्यार्थीहरुको तापक्रम मापन गरेको कुन्सरे टोलमा खटिएका शिक्षक दिनेश नेपालले बताए । विद्यालयका एकेडमिक कोर्डिनेटर होत्रीराज ढुंगानाले शिक्षक र विद्यार्थी बिचको भेटले शैक्षिक वातावरण कायम गर्ने बताए ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update