Shittalpati
कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

पाल्पा । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्जस्थित माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उनको बधुबार मृत्यु भएको बिहीबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । स्वास प्रस्वासमा समस्या आएपनि उनी नारायणी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । योसँगै नेपालमा १८ हजार २ सय ४१ जनामा कोरोना संक्रमण भएको हो । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ सय ५६ जनाले कोरोना जितेका छन् । योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार आठ सय ४० पुगेको छ ।

पाल्पामा ५ सय ४३ जना संक्रमित निको भए

पाल्पामा हालसम्म ५ सय ४३ जना कोरोना जितेर घर फर्किसकेका छन् । कोरोना भाइरसबाट संक्रमित भई जिल्लाको विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत ५ सय ४३ जना कोरोना जितेर घरमा फर्किएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । बुधवार लुम्बिनि मेडिकल कलेजबाट ५ जनाले कोरोना जितेर घर फर्किएका छन् । कोरोना निको हुनेहरूमा माथागढीका २९, रामपुर नगरपालिकाका ११७, पूर्वखोला गाउँपालिकाका १५९, रैनादेवी छहरा गाउँपालिकाका ३८,रम्भा गाउँपालिकाका ४०, बगनासकाली गाउँपालिकाका ३७, तिनाउ गाउँपालिकाका ८, रिब्दीकोट गाउँपालिकाका ५,निस्दी गाउँपालिकाका ९४, तानसेन नगरपालिकाका १३ र पाल्पामा उपचार गराएका अन्य जिल्लाका ३ जना रहेका छन् । पाल्पामा हालसम्म ५ सय ५७ जना कोरोना भाइरस संक्रमित भएका छन्,जस मध्ये एक जनाको मृत्यु भएको छ । जिल्लामा विभिन्न आइसोलेशनमा रहेर १३ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update