Shittalpati
जन्मदिनको अवसरमा नेता कंडेलले गरे पहिरो पीडितलाई आर्थिक सहयोग

गुल्मी । पछिल्लो समय नेपाली समाजमा मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, अनावश्यक फजुल खर्च गरेर खानपिन गरी जन्मदिन मनाउने गर्छन् । तर जिल्लाका एक व्यक्तिले भने आफ्नो जन्मदिनको अवसरमा पहिरो पीडितलाई आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गरेका छन् । नेपाली काँगे्रस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य योगराज कंडेल शर्माले आफ्नो जन्मदिनमा गर्ने फजुल खर्च पहिरो पीडितलाई सहयोग गरेका हुन् । जन्म दिनमा फजुल खर्च गर्नु भन्दा अभाव र समस्यामा परेका व्यक्तिहरुको उद्दारमा खर्च गर्नु राम्रो भएको भन्दै कंडेलले जिल्लाका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको बताए ।

नेपाली काँगे्रस गुल्मी काठमाडौं सम्पर्क समिति अन्तगर्त विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका कंडेलले जन्मदिनमा फजुल खर्च नगरी १५ हजार ५ सय ५५ रुपैयाँ मुसिकोट नगरपालिका वडा नं.१तल्लो पौदीका पहिरो पीडित रुद्रबहादुर विकको घर निमार्णको लागि सहयोग गरेका हुन । छत्रकोट गाँउपालिका ४ सिङ्गा निवासी कंडेल हेली एभरेष्टका कार्यकारी निर्देशक तथा नेपाल हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव समेत रहेका छन् । पछिल्लो समयले उनले काठमाडौबाट गुल्मेली जनताहरुको दुःख र पीडामा निरन्तर क्रियाशिल रहदै आएका छन् । विगत केही बर्षयता निरन्तर रुपमा आफ्नो जन्मदिनमा फजुल खर्च नगरी दिन दुःखीहरुका लागि सहयोग गदै आएका युवा नेता कंडेल कोरोनाको महामारी र आपत विपद्का बेला सामाजिक क्षेत्रमा आर्थिक एवं भौतिक रुपमा सहयोग र सेवामा निरन्तर लागि परिरहेका छन् ।

गत असार २ गते अविरल बर्षासँगै घर माथिबाट आएको पहिरोले घरलाई पूर्ण क्षति पुर्‍याएर विस्थापित भएका विकको नयाँ घर निमार्णको लागि नेपाली काँग्रेस मुसिकोट नगर कार्य समितिका सचिव मोहन घिमिरेले विकका लागि आर्थिक सहयोग जुटाउन सहयोग अभियान सञ्चालन गर्दै आएका छन् । हालसम्म विकको घर निमार्णका लागि विभिन्न व्यक्तिहरुबाट ४० हजार रकम संकलन भएको आर्थिक अभियान्ता घिमिरेले जानकारी दिए । –पत्रकार कौरव खत्रीबाट

प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update