Shittalpati
सरकारले चार महिना लामो लकडाउन हटायो

पाल्पा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुलेको छ । महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरेको लकडाउन बुधबारदेखि खुलेको हो । सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमार्फत चार महिनापछि लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् । सरकारले निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली पनि हटाएको छ । भोज र पार्टी गर्न नपाइनेगरी होटल व्यवसाय साउन १५ गतेदेखि खोल्ने निर्णय पनि सरकारले गरेको छ । यसैगरी लामो दूरीका यातायात भदौ १ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।

सरकारी कार्यालयमा दुई सिफ्टको सिस्टम पनि हटाइएको छ । सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । शैक्षिक क्षेत्र भने अझै नखोल्ने निर्णय भएको उनले जानकारी दिए । पछिल्लो समय थपिएको लकडाउनको अवधि साउन ७ सम्म कायम थियो । यसअघि सरकारले उपत्यका र अन्य जिल्लाको हकमा सार्वजनिक सवारी साधन खोल्ने निर्णय असार २६ गते नै गरेको थियो । सँगै सरकारले भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने निर्णय गरेको छ । स्कुल खोल्ने निर्णय गरे पनि सरकारले कक्षा सञ्चालन गर्न भने नदिने भएको छ । सँगै सरकारले भदौ १ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update