Shittalpati
गुल्मी काँग्रेसको नजर पहिरो प्रभावित क्षेत्रमा

रमेश विश्वकर्मा
गुल्मी । केही समय अघि जिल्लाको इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकाका पहिरोका कारण मानविय तथा भौतिक क्षति भयो । असार १८ गतेको अविरल वर्षासँगै आएको पहिरोमा परी इस्मा गाउँपालिका–१ मल्दीका दुई जनाले अकालमै ज्यान गुमाउनुपर्‍यो भने, ६ जना गम्भीर घाइते भए । एक सय ९४ घर विस्थापित छन् । त्यहाँ अहिलेसम्म विद्युत, खानेपानी, सडक सुचारु हुन सकिरहेको छैन ।

मुसिकोट–२ का भागीरथ घिमिरे पहिरोमा परी बेपत्ता भए । लामो समय–सम्म खोजी कार्य गरियो । तर फेला परेनन् । त्यहाँका ५४ घर विस्थापित छन् । पहिरो प्रभावितलाई स्थानीय सरकारहरुले चाँसो नदेखाउँदा उनीहरु झन पीडित छन् । घर नै पहिरोको जोखिममा परेपछि उनीहरु स्थानीयले बनाएका टहरा र विद्यालयमा आश्रय लिएका छन् । साहारा विहीन भएका उनीहरुलाई अहिलेसम्म स्थानीय सरकाबाट प्रभावकारी राहतको व्यवस्था हुन सकेको छैन । पहिरो प्रभावितको उद्दारका लागि सुरु देखिनै नेपाली काँग्रेस गुल्मी लागि परिरहेको छ । काँग्रेसका जिल्लास्तरका नेताहरु पहिरो प्रभावित स्थलहरुको अवलोकन र सक्दो सहयोगमा जुटिरहेको काँग्रेसले बताएको छ । स्थानीय सरकारले तदारुकता नदेखाएको बेला काँग्रेसका नेताहरु भने निरन्तर खटिरहेका छन् । पटक–पटकको काँग्रेस नेताहरुको जोडबलले नै जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा सहित अन्य राजनैतिक दलका नेताहरुले पनि पहिरो प्रभावित क्षेत्रको अवलोकन गरे । पीडितहरुले भने तीनै तहका सरकारको महशुस गर्न नपाएको गुनासो गर्दै आएका छन् ।

काँग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, पूर्वसभापति त्रैलोक्य प्रताप सेन, उपसभापति विष्णुप्रसाद बलाल, सचिव खिलध्वज, पन्थी र विष्णुकुमारी सापकोटा क्षेत्रीय सभापति भगतसिंह खड्का सहितका नेताहरुले पटक–पटक पहिरो प्रभावित स्थलहरुको अवलोकन गर्दै आएका छन् । स्थानीय सरकारले चासो नदेखाएपछि आफुहरुले खाद्यन्नसँगै त्रिपाल लगायतका अति आवश्यक वस्तुहरु प्रभावितहरुलाई सहयोग गर्दै आएको सभापति श्रेष्ठले बताए । काँग्रेसले मुसिकोट नगरपालिका–२ का पहिरो प्रभावितहरुलाई केही दिन अघिमात्र चामल, दाल, चाउचाउ, नुन–तेल लगायतका विभिन्न खाद्यान्न वितरण गरेको छ । काँग्रेसले श्रृङ्खलावद्ध रुपमा राहत प्याकेज ल्याउने सभापति श्रेष्ठले बताएका छन् । उनले भने ‘हाम्रो पार्टी सरकारमा नहुँदा पनि हामी राहतका सामग्री बोकेर आयौं । अब सत्तारुढ पार्टीले अझ यो भन्दा धेरै राहत बोकेर पीडितलाई मलम लगाहोस् ।’ उनले विपत्तिको बेला पनि स्थानीय तहले कसैसँग समन्वय गर्न नसकेको आरोप लगाए । काँग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले सरकार विपदमा पनि गम्भीर बन्न नसकेको बताए । अहिलेसम्म विद्युत, खानेपानी, सडक सुचारु हुन नसक्दा पहिरो प्रभावित समस्यामा परेको उनले बताए । यसअघि काँग्रेसले इस्मा गाउँपालिका–१ का पहिरो पीडितहरुलाई दुई पटक राहत सामग्रीहरु वितरण गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update