Shittalpati
पहिरोले रामपुरमा दुई घर पुरियो

इमान सिं राना
पाल्पा (रामपुर) । आईतबार साँझदेखि परेको अविरल वर्षासंगै खसेको पहिरोले जिल्लाको रामपुर नगरपालिका–१, स्यालीबजारमा दुई घर पुरिएको छ । रामपुर १ को स्याउली बजार हुँदै मित्याल जोड्ने सडक चौडा गर्ने क्रममा जथाभावी फालिएको ढुङ्गा माटोका कारण खसेको पहिरोले गयराती घरहरु पुरेको हो ।

स्थानीय दानस मल्लका अनुसार लक्ष्मी मल्ल र गमबहादुर मल्लको घर पहिरोले पुरेको हो । वर्षाद् संगै राति पहिरो खसेको थाहा पाएकाले मानिसहरु भाग्न र पशु चौपाया सार्न सकिएकाले कुनै मानविय क्षति नभएको स्थानीयले बताएका छन् । मल्लले साँझ पानी पर्न थालेपछि पहिरो खस्ने त्रासले आफुहरु खाना खाएर जागराम बसेको र साढे १२ बजे तिर पहिरो खस्न थाले पछि घरमा रहेका मनिस र चौपायालाई घरबाट हटाईएकाले मानविय क्षति हुनबाट जोगिएको बताए ।

घर पुरेपछि लक्ष्मी र गम बहादुरको परिवार छिमेकीको घरमा बसेका छन् । यता सोही स्थानका बालकुमारी मल्ल, सुर्य श्रेष्ठ, सूर्यमाला मल्लको घर उच्च जोखिममा रहेको छ । सडक चौडा गर्ने नाममा वातावरणलाई वास्तै नगरी असारको अन्त्यमा आएर खनिएको सडकका कारण घर जोखिममा परेको स्थानीयले बताएका छन् । यसैबीच, अविरल वर्षाका कारण रामपुरदेखि पूर्वी नवलपरासी जाने कालीगण्डकी करिडोरको दर्जन बढी स्थानमा ठूलाठूला पहिरो खसेको छ । जिल्लाका ग्रामीण सडकमा पनि अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update