Shittalpati
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, पाँच घाइते

पाल्पा । प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शनिबार प्रदेश पाँचका बाँके, रुपन्देही, कपिलवस्तु र गुल्मीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु र पाँच घाइते भएका हुन् । बाँकेको कोहलपुर न.पा.३ मैटुहवास्थित पूर्व–पश्चिम राजमार्गको प्रतिक्षालयमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । मदेशीमूलको जस्तो देखिने नाम, थर नखुलेको अन्दाजी ४६ वर्षको पुरुष मृत अवस्थामा भेटिएको प्रादेशीक प्रहरीले जनाएको छ ।

यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका ३ चंखिपुरको कुवामा एक महिलाको शव फेला परेको छ । स्थानीय ५८ वर्षकी बेली भुसाल कुवामा डुबिरहेको अवस्थामा मृत भेटिएको प्रादेशिक प्रहरीले जनाएको छ । उनी विहान मनिङवाक गर्न भनि घरबाट निस्किएको र अवेरसम्म पनि घर नफर्किएपछि खोज्ने क्रममा स्थानीयले घर नजिकैको कुवामा डुबेको अवस्थामा फेला पारेका थिए । प्रहरीका अनुसार उनी जण्डिसको बिरामी रहेको र हरेक दिन मनिङवाक निस्कने गरेको पाइएको छ । त्यस्तै गुल्मीको छत्रकोट गाउँपालिका ५ मनबाहकस्थित रिडी खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । अर्घाखाँची सन्धिखर्क नगरपालिका २ भलायडाँडाका ४२ वर्षका देव बहादुर मुखिया खोलाले बगाई ल्याएको अवस्थामा मृत भेटिएका हुन् । बाँकेको कोहलपुर नगरपालिका १४ पार्वतीपुरमा सवारी दुर्घटना हुँदा एक जना घाईते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको बा.९५ प ६८१८ न.को मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साईकल यात्री बाँके जानकी गाउँपालिका ६ का २५ वर्षका सन्तोष चौहानलाई पछाडीबाट ठक्कर दिँदा घाईते भएका हुन् । उनको भेरी अस्पताल बाँकेमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै रुपन्देही देवदह नगरपालिका ९ घोडाहा स्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटनामा ४ जना घाईते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा १० च २२१७ नं.को कार र विपरित दिशाबाट जाँदै गरेको ना ७ ख ४९४७ नं.को मिनि ट्रक एकआपसमा ठक्कर खाँदा कारमा सवार चार जना यात्रु घाइते भएका हुन् । घाइते हुनेहरुमा कञ्चनपुर बेतकोट नगरपालिका ७ का ५५ वर्षकी देवकी जोशी, सोही स्थानका ५६ वर्षका आनन्सप्रसाद जोशी, भिमदत्त नगरपालिका १८ कटानका २६ वर्षकी सरिता पन्त र उनका श्रीमान ३० वर्षका विरेन्द्र बिष्ट घाइते भएको प्रादेशिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update