Shittalpati
मास्क नलगाई हिड्ने प्रहरीको फन्दामा

रमेश विश्वकर्मा
गुल्मी । मास्क नलगाई घरबाहिर निस्कने प्रहरीको फन्दामा पर्ने गरेका छन् । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै पाल्पा र गुल्मीमा पनि नियम उलंघन गर्नेलाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।

पाल्पामा मास्क नलगाई घरबाहिर हिड्नेलाई प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालयले संक्रमण रोग ऐन २०२० र नेपाल सरकारले जारी गरेको लकडाउनको अवज्ञा गरी माक्स नलगाई हिड्डल गर्ने ५७ जना ब्यक्तिहरुलाई नियन्त्रण कारवाही गरेको छ । प्रहरीले असार २६ गतेदेखी साउन १ गतेसम्म मास्क नलगाई घरबाहिर हिड्ने ५७ जना नागरिकलाई एक सयका दरले जरिवाना गराई छाडेको छ ।

त्यस्तै गुल्मी प्रहरीले पनि मास्क नलगाई हिड्नेलाई कारवाही अगाडि बढाएको छ । मास्क नलगाई हिड्नेलाई कारवाही स्वरुप जरिवाना लिने निर्णय भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा ले बताए । मास्क नलगाई घर बाहिर निस्कने, सडक तथा सार्वजनिक स्थानमा भिडभाड गर्ने तथा सेवा प्रदायक कार्यालयहरुमा प्रवेश गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिई एक सय जरिवाना लिने र सचेत गराउने निर्णय भएको प्रजिअ शर्माले बताए । जिल्ला प्रशासनले अत्यावश्यक सेवा बाहेकका अन्य पसल, उद्योग तथा व्यवसायहरु बिहान दश बजेदेखि साँझ पाँचसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक सेवा दुग्धजन्य पदार्थ, तरकारी, मासुजन्य पदार्थका पसलहरु भने चौबिसै घण्टा खुला रहने छन् । यातयात सञ्चालन गर्दा पनि अनिवार्य सुरक्षा सतर्कता अपनाउनुपर्ने बताइएको छ । यातयातका साधनहरुमा स्यानिटाइजेशन नगरेको, यात्रुहरुका लागि, स्यानिटाइजरको व्यवस्था नगरेको र यात्रुहरुले मास्क नलगाएको पाइए पनि कारवाही गरिने भएको छ । त्यस्तो अवस्थामा तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिई यात्रुहरुलाई समेत झार्न सक्ने र यसको सम्पूर्ण जिम्मा लिई क्षतिपूर्ती सवारी धनी तथा सावारी चालकले दिनुपर्ने निर्णय भएको छ । बन्दाबन्दीको मौका छोपी यात्रुहरुबाट अत्याधिक भाडा अशुल गरेको पाइएमा नजिकैको प्रहरी चौकीमा खबर गर्न पनि आग्रह गरिएको छ । क्वारेन्टाइनको रुपमा प्रयोग भई अहिले खालि रहेका विद्यालयहरुलाई सम्बन्धित पालिकाहरुबाट स्यानिटाइजेशन मर्मत सम्भार तथा सरफाई गर्ने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update