Shittalpati
सरकार निजी विद्यालयप्रति संवेदनशील नभएको भन्दै पाल्पा प्याब्सन पनि आन्दोलित

पाल्पा (तानसेन) । सरकार निजी विद्यालयप्रति संवेदनशील नभएको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पा पनि आन्दोलित भएको छ । कोभिड १९ का कारण सरकारले जारी राखेको लकडाउनका कारण प्रभावित विद्यालयका लागि कुनै पनि निकास नै नदिई उल्टै विज्ञप्तीमार्फत समस्या थप्ने काम गरेको भन्दै प्याव्सन माग सहित आन्दोलित भएको हो । शुक्रबार पत्रकार सम्मेलन गरी सरकारको गैरजिम्मेवारी कार्यका कारण निजी क्षैक्षिक संघसंस्थाहरुमा समस्या आएकाले आन्दोलित हुनुपरे प्याब्सन पाल्पाका अध्यक्ष भरतप्रसाद न्यौपानेले बताए । उनले भने ‘सरकारले निजी विद्यालयलाई हेला गरेका कारण हामी आन्दोलन गर्न वाध्य भयौ, हाम्रा शिक्षकहरु अलपत्र छन्, विद्यार्थी र अभिभावक अलपत्र पर्ने अवस्था आउँनु सरकारको गैर जिम्मेवारी नै हो, त्यस कारण हामी आन्दोलित भएका हौं ।’

प्याव्सनको केन्द्रीय कार्यक्रम अनुसार देश भरिनै भईरहेको आन्दोलनका क्रममा पाल्पा जिल्लामा समेत पत्रकार सम्मेलनमार्फत विद्यालय बन्द गर्नु र सञ्चालनमा रहेका अनलाईन कक्षा समेत हाललाई स्थगन गर्नुपरेको अध्यक्ष न्यौपानेले स्पष्ट पारे । उनले हाम्रा मागहरु शिक्षा मन्त्रालयले नमान्दासम्म निजी विद्यालयहरु हाललाई सञ्चालन गर्न नसकिने परिस्थिति सिर्जना भएको जानकारी दिए ।

केन्द्रीय कार्यक्रम अनुसार पाल्पा प्याब्सनले पनि ७ बुँंदे माग पत्र पेश गरेको छ । माग पत्रमा विद्यार्थी भर्ना, अभिलेखीकरण, पाठ्यपुस्तक तथा शिक्षण सामग्रीहरु व्यवस्थापन गर्नुपर्ने, जोर,विजोर प्रणालीबाट शिक्षण गराउँन पाउनुपर्ने, क्वारेन्टाईन बनाईएका विद्यालयहरुको निर्मलीकरण गर्नुपर्ने, प्याव्सन तथा पेशागत संस्थाहरुको समन्वयमा नयाँ शैक्षिक क्यालेण्डर निर्माण गर्नुपर्ने, लकडाउनको अवस्था एक महिना बाहेक बाँकी कार्यक्षमताका हिसावले शुल्क उठाउन पाउनुपर्ने, गतवर्षको बकौता शुल्क उठाउन पाउँनुपर्ने, घर भाडा कर, सवारी साधन कर, व्यवसायिक करमा छुट पाउँनुपर्ने माग समेत गरिएको छ । पत्रकार सम्मेलनमा प्याव्सनका उपाध्यक्ष महेशमान बज्राचायको स्वागतमा शुरु भएको पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय कोषाध्यक्ष मीनप्रसाद बञ्जाडे, पुर्वकेन्द्रीय सदस्य, तथा पाल्पा प्याब्सनका पूर्वअध्यक्षहरु, भेषराज सुवेदी, खेम सारु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update