Shittalpati
‘पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक’

कृष्ण पोखरेल
तानसेन । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । सरसफाईका लागि आवश्यक बाल्टीन वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शाहीले सबैको सहयोग र साथ रहेमा मात्र पूर्ण सरसरफाईयुक्त नगर बनाउन सकिने बताएका हुन् । उनले नगरपालिका एक्लैले भन्दा पनि सबैको सहयोगबाट नगरलाई पूर्ण सरसफाईयुक्त नगरपालिका बनाउन सकिने बताए । प्रमुख शाहीले भने ‘नगरले सरसरफाई गर्दै जाने तर नागरिकले आफनो जिम्मेवारी र दायित्वलाई भुल्दै सरसफाईप्रति संवेदनशिलता नदेखाउने हो भने नगर कहिल्यै पनि स्वस्थ र सुन्दर हुन सक्दैन ।’ टोल, नगर सरसफाई भए हामी नगरबासी निरोगी हुने भएकाले सरसफाईको क्षेत्रमा सबैपक्ष एकजुट भएर लाग्नसमेत नगरप्रमुख शाहीले तानसेन वासीलाई आग्रह गरे ।

सबै नागरिकले आ–आफ्नो घरवरपरको सरसफाईमा ध्यान दिने हो भने सफा, सुन्दर र हरियाली नगर बनाउन समयनै नलाग्ने उनले बताए । नगरप्रमुख शाहीका अनुसार नगरपालिकाले टोल–टोलमा स्वच्छ तथा सफा राख्न टोल विकास संस्थाहरुमार्फत सरसफाई कार्यक्रम अगाडि बढेको छ । नगरपालिकाले केही सयममै नगरमा संकलित फोहोरबाट बायोग्यास उत्पादन गर्ने कार्यमा समेत लागेको उनले बताए । आ–आफ्ना घर टोलका फोहोर व्यस्थित रुपमा संकलन गरी व्यवस्थापनमा लाग्न नगरपालिकाले अनुरोध गरेको छ । कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता दामोदरप्रसाद घिमिरेले बाल्टीन वितरण एउटा सरसफाईको सांकेतिक रुपमात्र भएकाले सबै वडा–वडामा टोल विकास संस्था पूर्ण रुपमा परिचालित भई नगरलाई पूर्ण सरसफाईयुक्त नगरपालिका बनाउनुपर्नेमा जोड दिए ।

५ का वडा अध्यक्ष रामबहादुर रावल, टोल विकास संस्थाको तर्फबाट वडा नंं ३ की सरस्वती भट्टराईले नगरपालिकाले कार्यक्रमका लागि कार्यक्रम मात्र नगरी सरसफाईको क्षेत्रमा नियमित रुपमा अनुगमन देखिएका कमि कमजोरीहरुलाई सुधार गर्दै लैजानु पर्ने बताए । लकडाउनको अवस्थामा समेत बजार क्षेत्रमा नियमित रुपमा फोहोर संकलन गर्दै आएको नगरपालिकाका सरसफाई शाखाप्रमुख शंकर भण्डारीले बताए । उनले फोहोर व्यवस्थापन एप्स चाडै सञ्चालनमा ल्याउने गरी काम भईरहेको समेत जानकारी दिए । नगरपालिकाले घर–घरबाट निस्कने कुहिने फोहोरलाई व्यस्थित रुपमा संकलन गर्न टोल विकास संस्थाहरु परिचालन गरी घर–घरमा बाल्टीन वितरण गरेको छ । वडा नंं १, २, ३, ५ र वडा नंं ६ का टोल विकास संस्था र वडा नंं ७, ८, ९ १० र १४ नं वडा कार्यालयमार्फत पहिलो चरणमा सरसफाई शाखाले ५ सय ५५ वटा फोहोर संकलन गर्ने बाल्टीन वितरण गरेको हो । तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही र फोहोर मैला व्यवस्थापन समितिका संयोजक विष्णु बहादुर कार्कीले संयुक्त रुपमा फोहोर संकलन गर्ने बाल्टीन टोलविकास संस्थाका प्रतिनिधीहरुलाई वितरण गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update