Shittalpati
रामपुरमा सुरक्षा भत्ता घटाइएकोप्रति नेकपाको आपत्ति, नगर सरकार भन्छ ‘माग अनुसार रकम आएन’

इमान सिं राना

पाल्पा(रामपुर) । रामपुर नगरपालिकाले तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्तामा ४ दशमलव ५ प्रतिशत रकम घटाएर पठाए पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुर नगर कामिटीले आपत्ति जनाएको छ । सातौं नगर सभामा नेकपाका जनप्रतिनिधिहरुले राखेका मागका विषयमा कुनै सुनुवाई नभएको भन्दै रामपुरमा सम्पन्न गरेको पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा राख्दै आपत्ति प्रकट गरेको हो । सामाजिक सुरक्षा भत्ताको लागि माग अनुसार रकम नआए पछि नगरपालिकाले थप रकम आएपछि दिने गरी रकम जेष्ठ नागरिकहरुको खातामा पठाएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमल राज भट्टराईले भने, ‘सामाजिक सुरक्षाभत्ता सरकारले नगरपालिकाले जति माग गरेको हो त्यति आको छ । केन्द्रिय सरकारले भत्ता कटौटी गर्न भनेको छैन ।’ उनले नगरपालिकाले हाम्रा वृद्ध बुबा आमाहरुको भत्ता ४ दशमलव ५ प्रतिशत कट्टा गरिराखेको बताए । उनले भने, ‘मैले सुनेको छु १४ लाख रुपैयाँ फ्रिज भयो रे । यता ४.५ प्रतिशत कटौटी भयो । यता १४ लाख फिर्ता भयो । यस्तो के नियत हो ?’ उनले सामाजिक भत्ता केन्द्रले भने अनुसार दिनु पर्ने र लिखित रुपमा निर्णय गर्न माग गरे पनि सुनुवाई नभएको बताए । नगर सभा सदस्य समेत रहेका भट्टराईले पार्टीकातर्फ बाट आफ्ना धारणा राख्दै बजेट पारित हुनु पूर्व खर्चको विवरण सार्वजनिक गर्नु पर्ने, प्राकृतिक स्रोतबाट आएको आम्दानी पारदर्शी हुने पर्ने जस्ता जनताको पक्षको माग राखेको बताए । उनले गत वर्ष देखि सुरु भएको वडाका गौरवको आयोजना अहिले कटौटी भएको र निन्तर हुनु पर्ने मुख्य माग रहेको बताए । केन्द्र र प्रदेशबाट परेका योजनाहरु सुरु मै आए पनि बिचमा चासो नदिने र अन्तिममा आएर टेण्डर गर्ने र रोक्ने क्रियाकलाप भएको बताए । उनले कार्यपालिकामा आएका विद्येयकहरु विना छलफल पारित हुने गरेको बताए । भट्टराईले भने, ‘कार्यपालिकाका सदस्यहरु वेवास्तामा परेको छ । छलफल गरेर परिषद् अघि बढाऔं भन्दा बहुमतमा पारित भएको छ । जयज माग प्रति छलफल विनै पारित भएकाले बहस गरेर पारित गर्ने अधिकार हनन् भएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका इन्चार्ज राजु प्रसाद श्रेष्ठले नगरपालिकाको विकासको लागि पार्टीले सहकार्य गर्दै आए पनि नगरपालिका एक लौटी ढंगले अघि बढेको बताए । उनले प्रदेश र संघमा नेकपाको सरकार रहेको र स्थानीय तहमा नेपाली कांग्रेसको सरकार रहेकाले विकासको लागि सहकार्य गर्न नेकपा समन्वय समितिमा गएको तर कुनै सुनुवाई नभएको र आएको बजेट कार्यान्वयन हुन नसके पछि राजिनामा दिएको जानकारी गराए । संसदिय दलका नेता तथा वडा नं. १० का वडा अध्यक्ष लिल बहादुर गाहाको स्वागतबाट सुरु भएको पत्रकार सम्मेलनको सहजिकरण वडा नं. १ का वडा अध्यक्ष मित्रलाल कंडेलले गरेका थिए ।

यता रामपुर नगरपालिकाले भने तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्तामा माग अनुसार रकम नआएपछि भएको रकमलाई समान रुपमा वितरण गरिएको जनाएको छ । आएको रकम मध्ये पहिलो र दोस्रो चौमासिक रकम पुरा दिए पनि केही वडाहरुबाट भिईआरएसपि एमआईएस अपडेट नहुँदा रकम आउन नसकेको हो । तेस्रो चौमासिकका लागि ३ करोड १७ लाख ४६ हजार ६ सय माग भएकोमा १५ लाख ३८ हजार २ सय बराबर रकम अपुग भएको थियो । रकम अपुग भए पछि कसैलाई दिने र कसैलाई नदिने गर्नु भन्दा अन्त सम्ममा आएमा दिने गरी लेखा शाखाले वडा सचिवहरु संग सहकार्यमा ४ दशमलव ५ प्रतिशत कट्टा गरी रकम पठाएको बताएको छ ।

रामपुर नगरपालिकाका लेखा अधिकृत रेनुराम ज्ञावलीका अनुसार रामपुर नगरपालिकालाई सामाजिक सुरक्षा भत्ताको लागि ९ करोड २१ लाख ५२ हजार रकम उपलब्ध भएको थियो । प्रथम चौमासिकमा ३ करोड ५ लाख ३१ हजार ६ सय खर्च, दोस्रो चौमासिकको लागि ३ करोड १४ लाख १२ हजार निकासा भएको थियो । बाँकी रकेको ३ करोड ०२ लाख ८ हजार ४ सय रकममा तेस्रो चौमासिकको ३ करोड १७ लाख ४६ हजार ६ सय रकम माग भएको थियो । ज्ञावलीले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ताको लागि रकम नपुग भएमा एमआईएस विवरण अध्यावधिक गर्न र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को अनुसुची भरेर अपुग रकम समेत पठाउन भने पनि केही वडा तथा शाखाहरुको कारण रकम आउन नसकेको बताए ।

उनले भने, ‘विगतमा मंसिरमा नाम लेखाएकाहरुलाई साउनबाट सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था थियो । अहिले मंसिर नै कुर्नु पर्दैन । हाम्रो वडाहरुमा फाईलमा दर्ता गर्ने तर सिस्टममा दर्ता नगर्दा यस्तो समस्या आएको हो ।’ रामपुर नगरपालिका तथा अन्य पालिकाहरुमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर पनि खटाएको छ । तर उनीहरुले अहिले सम्म तालिम पाउन समेत सकेका छैनन् । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कुनै नियतबस भन्दा पनि केही वडाहरुबाट तथ्याङ्क आउन ढिलाई हुँदा रकम नआएको बताए । उनले भने, ‘तथ्याङ्कको भर्न ढिलो गरेका वडाहरुको छानविन गरिने छ । सामाजिक सुरक्षा भत्ताको बाँकी क्षति पूर्ति जुन वडाले गल्ती गरेको छ त्यही वडाको विकास बजेटबाट भए पनि कट्टी गरेर जसरी पनि उपलब्ध गराउने छौं ।’

प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update