Shittalpati
रेसुङ्गामा लाग्ने साउने मेला यस वर्ष हुन सकेन

गुल्मी । जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा हरेक वर्ष लाग्दै आएको साउने मेला यस वर्ष भने हुन सकेन । विश्वभर फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण यस वर्षको साउने मेला हुन नसकेको हो । सरकारले मेला महत्सव नगर्न अनुरोध गरेसँगै यस वर्षको साउने मेलाको औपचारिक कार्यक्रम पनि नगरिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । रेसुङ्गामा मन्दिर ब्यवस्थापन समितिले हरेक वर्ष साउन महिनाभर मेला आयोजना गर्दै आएको थियो । समितिले एक महिनासम्म धार्मिक प्रवचनसँगै रुद्री,चण्डी शिवजीको दैनिक पुजालाई भने यथावत रुपमा सञ्चालन गर्ने संरक्षण समितिका अध्यक्ष भुसालले बताए । संक्रमणको सर्तकता अपनाउदै कसैले पूजाआज गर्न चाहे, मन्दिर परिसरमा तोकिएका सिमा रेखाबाट गर्न सकिने व्यवस्था मिलाइएको समितिले जनाएको छ । तर साउन महिनामा अघिल्ला वर्षहरुमा जस्तै बिशेष मेलाहरु भने नगरिने रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।

नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरुबाट पनि श्रदालु भक्तजन आउने गर्दछन् । अघिल्ला वर्षहरुमा साउन भर सञ्चालन हुने मेलामा साउन १ गते र साउने औषी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दथ्यो । रेसुङ्गामा साउन महिना बाहेक अन्य दिनहरुमा समेत दैनिक पुजा हुने गर्दछ ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update