Shittalpati
पहिरोका कारण दुई सय ४८ घर विस्थापित

गुल्मी । जिल्लाका विभिन्न ठाउँमा भएको पहिरोका कारण २ सय ४८ घर विस्थापित भएका छन् । लगातारको अविरल वर्षाका कारण असार १८ गते जिल्लाका विभिन्न स्थानमा गएको पहिरोबाट २ सय ४८ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । पहिरोले ईस्मा गाउँपालिकामा ठूलो जन धनको क्षती पुर्‍याएको छ । पहिरोबाट २ जनाको मृत्यु भएको थियो, भने ६ जना घाइते भएका थिए । पहिरोले इस्मा १ मा १ सस ३६ घर, वडा ४ मा ५० घर र वडा ६ मा ८ घर विस्थापित भएको पन्थीले जानकारी दिए । पहिरोबाट मुसिकोट नगरपालिकामा पनि ५४ घर विस्थापित भएका छन् । पहिराले सडक, विद्युत खानेपानी अवरुद्ध रहेका छन् । जसले गर्दा विस्थापित घर परिवारहरुलाई राहत वितरणमा समेत समस्या भएको छ ।

जिल्ला विपद् व्यवस्था समितिले जिल्लाका अन्य स्थानमा समेत पहिरोबाट सडक अवरुद्ध भएकाले पूर्वाधार विकास कार्यालय, मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, कालीगण्डकी कोरीडोर सडक निर्माण कार्यालय हर्मिचौर, सडक डिभिजन कार्यालय पाल्पा, शहरी विकास तथा भवन कार्यालय पाल्पा, सडक डिभिजन कार्यालय शिवपुर, संघीय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीले आफ्नो क्षेत्राधिकार भित्रका सडकहरु तत्काल सुचारु गर्ने गराउने निर्णय गरेको छ । क्षतिग्रस्त भएका सडक पूर्वाधार, गोठ, विद्यालय, उद्योग व्यवसाय, सिचाई कुलो नहर, खानेपानीका संरचना, कृषि सम्बन्धी खेतबारी, बाली, पशु चौपायाहरुको नोक्सानीको पूर्ण विवरण सम्बन्धित कार्यालयहरुले संकलन गरी यथासक्य चाँडो जिल्ला विपद् व्यवस्थापन समितिलाई पेश गर्ने र प्रकोपबाट नोक्सान भएको धनजन, सडक पूर्वाधार, खानेपानी, विद्यालय, वनजंगल, सिंचाइ, कृषि, पशु चौपायाको राहत तथा पुनर्निर्माणको लागि तालुक निकायमा अनुरोध गरी पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update