Shittalpati
काँग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिद्वारा पहिरो पीडितलाई राहत

रमेश विश्वकर्मा

गुल्मी । नेपाली काँग्रेस गुल्मी–काठमाडौ सम्पर्क समितिद्वारा पहिरो पीडितलाई राहत प्रदान गरिएको छ । जिल्लाको ईस्मा गाउँपालिका १ मल्दीका पहिरो पीडितलाई सम्पर्क समिति अन्तर्गत गठित विपद् व्यवस्थापन समितिले आवश्यक खाद्यन्न सामग्री सहयोग गरेको हो । पहिरो प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरिएको समितिका संयोजक योगराज कंडेलले बताए । पीडितलाई दुई लाख बराबरको राहत सामग्री सहयोग गरेको समितिका उपाध्यक्ष कृष्ण प्रसाद खरेलले जानकारी दिए । उनका अनुसार चामल १ सय बोरा, तेल १ सय पोका, सोयाबिन १ सय पोका, नुन १ सय पोका, चाउचाउ २० प्याक, पानी २० प्याक, त्रिपाल २० थान लगायतका राहत सामग्रीहरु वडा अध्यक्ष चुरा बहादुर खत्रीलाई हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेस गुल्मीको अनुरोधमा गुल्मी स्थायी घर भई काठमाडौ बस्दै आएका काँग्रेस शुभेच्छुकहरुको संगठन नेपाली काँग्रेस गुल्मी–काठमाण्डौ सम्पर्क समिति राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए । प्रभावित क्षेत्रमा अझैपनि खानेपानीको व्यापक समस्या छ । सबै सडकहरु अवरुद्ध छन् । पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री प्रदान गर्न पुगेका नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले विस्थापित सम्पूर्ण घरपरिवारलाई छिट्टै स्थायी बसोवास हुने गरी स्थापित गर्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।

गुल्मी काँग्रेसले पनि यसअघि पीडितहरुलाई १ लाख ५० हजार बराबरको राहत सामग्री सहयोग गरेको थियो । असार १८ गते परेको अविरल वर्षाका कारणबाट ईस्मा गाउँपालिका १ को तोरीखर्क, मल्दी, जुकेपानी लगायतका विभिन्न स्थानमा व्यापक धनजनको क्षती भएको थियो । राहत सामग्री लिएर काठमाडौबाट विष्णु केसी, फर्सुराम घिमिरे, सम्पर्क समितिका उपाध्यक्ष रामप्रसाद खरेल, सदस्य शन्तोष पाण्डे, नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, पूर्व सभापती त्रैलोक्य प्रताप सेन, कोषाध्यक्ष हरिबहादुर केसी, महेन्द्र भण्डारी, शालिक पन्थी, नारायण रिजाल, क्षेत्रीय सभापति भगत सिंह खड्का प्रदेश सभापतिहरु पूर्णबहादुर केसी, रेखाकुमार जिसी, तरुणदलका सभापति भरत भलामी, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुदर्शन खनाल लगायतको टोली प्रभावित क्षेत्र पुगेको थियो ।

प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update