Shittalpati
तानसेनमा सहकारी सञ्जाल गठन, संयोजकमा पन्त

कृष्ण पोखरेल

तानसेन । तानसेन नगरपालिकामा नगरस्तरीय सहकारी संजाल गठन भएको छ । नगरभित्रका सहकारीहरुलाई व्यस्थित रुपमा सञ्चालन गर्न, विभिन्न वडा वडामा सहकारी, सस्तो पसल सञ्चालन गर्न, प्रत्येक घर–घरलाई सहकारीसँग जोड्दै आयआयआर्जनमा लगाउन तानसेन नगरपालिकाले नगरस्तरीय सहकारी सञ्जाल गठन गरेको हो । जसको संयोजकमा महेश्वर पन्तलाई चुनिएको छ । संजालको संयोजकमा भेषराज सुवेदी र मधुदयाल सैजु दुबैले दावी नछाडेपछी तेस्रो विकल्पको रुपमा भेलाले महेश्वर पन्तलाई संयोजकमा चयन गरेको हो । उनी नवयुग कृषि सहकारी संस्था तानसेन १० का अध्यक्ष समेत हुन् । यसै गरी सह– संयोजकमा गंगा पौडेल, सचिवमा मिना जिसी र सदस्य सचिवमा महेश शर्मा आचार्य चयन भएका छन् । यसैगरी सदस्यहरुमा रिता पंगेनी, धनिसरा थापा, सकुन्तला बज्राचार्य, राम प्रसाद शर्मा र गिता भट्टराई चयन भएका छन् । नगर भित्र बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, पशु तथा दुग्ध गरी ४९ वटा सहकारी रहेका छन् ।

नगर भित्र कृषि सहकारी ११, दुग्ध सहकारी ३ , कफि सहकारी २ , बचत तथा ऋण सहकारी १७, बहुउद्देश्यीय सहकारी १२, अदुवा सहकारी १ र ३ वटा अन्य प्रकृतीका सहकारी गरी ४९ वटा सहकारी सञ्चालनमा रहेको तानसेन नगरपालिका बरिष्ठ कार्यक्रम अधिकृत तथा नगर सहकारी प्रमुख दुर्गा बहादुर थापाले बताए । सञ्जालको माध्यमबाट स्थानीय श्रोत साधन, श्रम सीप र पुँजीको परिचालन गरी गरिवी न्युनिकरण गर्ने, आधारभुत आवश्यकताका वस्तु तथा सेवाको उत्पादन, प्रशोधन बजारीकरण गर्ने सहकारी प्रमुख थापाले बताए । जिल्लाका सहकारीमा सर्वसाधारणहरुको १ अर्ब २३ करोड ५१ लाख, १३ हजार ३ सय ४७ रुपैयाँ बचत रहेको र १ अर्ब ३१ करोड, १४ लाख, ३ सय ७ रुपैयाँ कर्जा लगानी गरेको सहकारी प्रमुख थापाले जानकारी दिए । भेलामा नगर प्रमुख अशोक कुमार शाहीले नगरभित्रका सहकारीहरुलाई व्यस्थित रुपमा सञ्चालन गर्न, निति नियम निर्देशिका बमोजिम कार्यान्वयन गराउन, हरेका सहकारीलाई उत्पादन बजार र रोजगारीसँग जोड्न यो अभियान शुरु गरिएको बताए । कार्यक्रममा, नगर उप–प्रमुख लक्ष्मीदेवी पाठक, प्रवक्ता दामोदर घिमिरे, बचत तथा ऋण सहकारीका जिल्ला अध्यक्ष जगदिश भट्टराई, सहकारीसंस्था बाट भेषराज सुवेदी र गंगा पौडेल, पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्याल लगायतले शुभकामना दिदै सहकारी सञ्जालको माध्यमबाट नगरभित्रका सहकारीहरुलाई नमुना बनाउने काममा भूमिका खेल्नु पर्ने बताए ।

प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update