Shittalpati
शनिबार बैंक खुलै राख्न राष्ट्र बैंकको निर्देशन

पाल्पा । नेपाल राष्ट्र बैंकले शनिबार अर्थात् आज पनि बैंकहरू खुला राख्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक विदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ । कोभिड–१९ कारण सरकारको राजस्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै बैंक खुल्ला राख्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंकका शाखाहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख तथा कार्यकारी निर्देशक देवकुमार ढकालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । सूचनामा भनिएको छ ‘वित्तीय संस्थाका सम्पूर्ण राजस्व संकलन गर्ने शाखा÷काउन्टरहरु एवं बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउण्टर लगायत क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत खुला गर्ने व्यवस्था मिलाउनु हुन सूचना जारी गरिएको छ ।’ यस अघि पनि सरकारलाई तिर्नुपर्ने राजस्व तिर्न असार मसान्तसम्म शनिबारमात्रै होइन अन्य सार्वजनिक विदा भएपनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरूलाई खुला राख्न निर्देशन दिने गरेको थियो ।

प्रकाशित मिति: शनिबार, असार २७, २०७७  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update