Shittalpati
गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा

कौरव खत्री

गुल्मी । गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा भएको छ । समाजले उक्त बैठकमा संस्थाको आम्दानी र खर्च सावजनिक समेत गरेको छ । कोभिड-१९ ले समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा संकलन गरिएको अष्ट्रेलियन डलर ५ हजार, ६ सय, ६० रुपैया बराबरको विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ । समाजका विभिन्न शुभचिन्तकहरुबाट संकलन गरिएको तीन हजार,  तीन सय, दश रुपैयाँ अष्ट्रेलियन डलर संकलन गरिएको थियो । त्यस्तै सहयोगका लागि नपुग रकमलाई संस्थाको खाताबाट प्रयोग गरिएको छ । त्यस्तै कार्यक्रममा सबैभन्दा बढी सात सय, पचास रुपैया अष्ट्रेलियन डलर सहयोग गर्ने व्यक्तिहरुप्रति विशेष धन्यवाद ज्ञापन गरेको छ ।

समाजले समस्यामा परेका १ सय, १० जना विद्यार्थीहरुलाई राहत बक्स वितरण गरिएको थियो भने विभिन्न होटलहरुबाट ४० जनाले निःशुल्क तथा छुटको खाना मार्फत विद्यार्थीहरुले सहयोग पाएका थिए । समाजले आगामी बर्षको लागि नयाँ आगन्तुक विद्यार्थीहरुलाई केन्द्रित गरेर विभिन्न योजनाहरु लिएर आएको जनाएको छ । त्यस्तै आवश्यकता अनुसार प्रत्येक महिना विज्ञहरुबाट विभिन्न किसिमका तालिमहरु समेत सञ्चालन गर्ने र भविष्यमा विभिन्न व्यवसायीहरुसँग सम्पर्क छलफल गरी अष्ट्रेलिया आएका नयाँ विद्यार्थीहरुलाई आवश्यक पर्ने तालिमहरु सञ्चालन गर्ने योजना रहेको समाजका सचिव प्रकाश अर्यालले जानकारी दिए ।

त्यस्तै गुल्मी समाजले विभिन्न विद्यार्थीहरुले गरेको मागलाई मध्यनजर गदै हालको लागि हेल्पडेक्स बनाएर उनीहरुलाई सहयोग गर्ने जनाएको छ । बैठकले समाजको कोष वृद्धिका लागि समाजका पदाधिकारीहरुबाट प्रति महिना १५ रुपैया अष्ट्रेलियन डलर र पदाधिकारी मध्येका विद्यार्थीहरुबाट प्रति महिना १० रुपैया अष्ट्रेलियन डलर उठाउने निर्णय समेत गरेको छ । संस्थाले कोभिड १९ को समस्या समाधान भएपछि भने रक्क्तदान कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । समाजका अध्यक्ष गान्धीप्रसाद भट्टराईको अध्यक्षता, सचिव प्रकाश अर्यालको सञ्चालनमा बैंठक भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update