Shittalpati
रामपुरमा जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालनमा

इमान सिं राना

पाल्पा (रामपुर) । रामपुर नगरपालिकाले जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालनमा ल्याएको छ । जेष्ठ नागरिकहरुको दैनिकीलाई सहज बनाउन नगरपालिकाले राधाकृष्ण मन्दिरमा मिलन केन्द्र सञ्चालन गरेको हो । आफ्ना उमेरका दौतरी संगै विगतका अनुभवहरु साटासाट गर्ने, भलाकुसारी गर्ने, भजन कृतन गर्ने, धार्मिक पुस्तकहरु अध्ययन गर्ने गराउने जस्ता क्रियाकलाप मार्फत जेष्ठ नागरिकहरुलाई रमाईलो गरेर दिन बिताउने अवसर प्रदान गर्नका लागि मिलन केन्द्र सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । तत्कालको लागि मन्दिरको हललाई प्रयोग गरी आवश्यक नगरपालिकाले भजन कृतनका लागि सामग्री, धार्मिक पुस्तक, खेल सामग्री, चियानास्ताको लागि सामान र बस्ने बसाईको व्यवस्था गरेको छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख विष्णुदेवी घिमिरे अचार्य र प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पौडेलले संयुक्त रुपामा राधा कृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष शिवकुमारी वाग्लेलाई सामाग्री हस्तान्तरण गरेर जेष्ठ केन्द्रको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले पछिल्लो समय विदेशीको संस्कृतिको प्रभावका कारण नेपालमा पनि आफ्ना सन्तान बाट आमा बाबु अपहेलित हुने गरेकोमा दुख व्यक्त गरे । उनले जेष्ठ नागरिक जिउँदो भगवान रहेको भन्दै उहाँहरुलाई खुशी राख्न सके र सेवा गर्न सकेमा आशिर्वाद लाग्ने बताए । पछिल्लो समय वृद्धहरुलाई दिन कटाउन मुस्किल पर्दै गएको भन्दै थापाले अहिले बेझाँडमा मात्र केन्द्र सञ्चालन गरेको र आगामी दिनमा फरक धर्म संस्कृतिलाई पनि समेट्दै वडागत रुपमा जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालन ल्याउने गरी नगरपालिका लागेको बताए ।

रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले हाम्रा संस्कृतिहरु हराउँदै गएको भन्दै संरक्षणको लागि जेष्ठ नागरिकहरुको सहयोग महत्वपूर्ण हुने बताईन् । उनले जेष्ठ नागरिकहरु अनुभवको खानीरहेको समेत बताईन् । सरकारले अवलम्बन गरेको निती अनुसार आफ्ना दौतरी संगै भलाकुसारी गरेर दिन विताउन सहज होस् भन्ने लक्ष्यले केन्द्र सञ्चालन गरिएको बताईन् । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले मानव जीवनमा बालापन र वृद्ध अवस्थामा संगीसाथीको आवश्यक पर्ने भन्दै यसको लागि मिलन केन्द्रले ठूलो सहयोग गर्ने बताए ।

कार्यक्रमका उद्देश्यका बारेमा जानकारी दिदै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले घरमा मात्र एक्लै बस्दा वृद्धवृद्धाहरुमा एक्लो पन महसुस हुने भएकाले रमाईलोका साथ दिन विताउन सहज होस् भन्ने लक्ष्यका साथ मिलन केन्द्र सञ्चालन गरिएको बताए । जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र संरक्षण समितिका संयोजक समेत रहेका नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका महिला विकास सहायक निरिक्षक पुजा परियारले गरेकी थिईन् । नगरपालिकाका महिला विकास निरिक्षक प्रतिमा मल्लले तत्कालको लागि बसाई व्यवस्थापनको लागि कार्पेट विछ्याएर २५ वटा कुशन राखिएको बताईन । उनले भजनकृतनका लागि एक थान टेवल, मजुरा ३ जोडी, करताल २ जोडी, झ्याली १ वटा, खैजडी सानो ३ वटा र ठूलो २ वटा, धार्मिक पुस्तक ३० वटा, खेलको लागि लुडो पनि खरिद गरिएको जानकारी दिईन । साथै चियापानको लागि चुल्हो सेट, भाँडाहरु पनि खरिद गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update