Shittalpati
हावाबाट बिजुली गाउँ नै झिलिमिली

रामपुर । टुकी मात्र उज्यालोको माध्यम बनेको पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका ४, मित्याल क्षेत्रका बासिन्दाले हावाबाट उत्पादन भएको बिजुली उपभोग गर्न पाएका छन् ।

मित्यालमा दुई वर्षअघि नै परीक्षणका रुपमा हावाबाट एक हजार दुई सय वाट क्षमताको बिजुली निकालिएको थियो । अहिले मित्यालको रुक्सेभञ्ज्याङमा सौर्यबाट १० र हावाबाट १५ किलोवाट बिजुली थपिएको छ । टुकीका भरमा दिनचर्या बिताउँदै आएका स्थानीयवासी झममाया सुनारी विद्युत सेवा उपभोग गर्न पाउँदा खुशी छन् । उनले दुर्गम गाउँमा विजुली बत्ती बाल्न पाइन्छ भन्ने कहिल्यै आशा नगरेको तर गाउँमै हावाबाट बिजुली उत्पादन गरी घर घरमा बाल्न पाउँदा अहिले गाउँ नै झिलिमिली बनेको बताइन् । विद्युत सेवा उपभोग गर्न पाएपछि यहाँका बासिन्दाको दिनचर्या सहज बनेको छ । स्थानीयस्तरमै हावाबाट निकालिएको विद्युत् सेवा मित्यालका काफल, मौलाथर, रुक्सेभञ्ज्याङ र झ्याल्टुङका नागरिकले प्रयोग गर्दै आएका छन् । विद्युत उत्पादन सफल भएपछि यहाँका बासिन्दा थप बिजुली निकाल्न कस्सिएका छन् । हावाबाट बिजुली निकाल्न गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको दुई करोड १५ लाख बराबर खर्च भइसकेको सौर्य तथा वायु ऊर्जा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र सुनारी बताउँछन् ।

मित्याल आसपासका १ सय ४६ घर तथा गाउँपालिका कार्यालय, प्रहरी कार्यालय र विद्यालयले विद्युत उपभोग गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । रुक्सेभञ्ज्याङ डाँडामा दुई ठूला पंखा घुमिरहेका हुन्छन् । सोलार प्यानल समेत राखेर दुवैबाट बिजुली निकालिएको छ । शुरुमा हावाबाट विजुली निकाल्ने भन्दा धेरैले अविश्वास गरेका थिए । –रासस

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update