पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–६, धुस्तुङस्थित गोलफानमा शुक्रबार दिउँसो गएको पहिरोले दुई वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गा–माटो बगेर आउँदा स्थानीय केसुराम सारु मगर र रामबहादुर उचईका कच्ची घर पहिरोले क्षतिग्रस्त बनाएको हो ।
पहिरोले उनीहरुको ढुंगा–माटोले बनेका जस्ताले छाएका तीनतले कच्ची घर पूर्ण रूपमा ढलेका छन् । पहिरोका कारण रामबहादुरको चार जनाको परिवार सकुशल रहेका छन् भने केसुरामको चार जनाको परिवारमध्ये उहाँकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु पहिरोमा परी बेपत्ता भएकी छन् । परिवारका अन्य सदस्य भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए । पहिरोबाट घर पूर्णरूपमा क्षतिग्रस्त भए पनि अन्य चौपायामा क्षति भएको छैन । पानी निरन्तर परिरहेको र घरभन्दा माथिको मोटरबाटोबाट ढुंगा–माटोसहितको लेदो निरन्तर बगिरहेकाले तत्काल उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता सारुको खोजी कार्य भइरहेको छ ।


