Shittalpati
बाहिर निस्कदा अनिवार्य मास्क लगाउन पाल्पा प्रशासनको आग्रह

पाल्पा । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि जिल्ला प्रशासन कार्यालयले अनिवार्य मास्क लगाउन नागरिकलाई आग्रह गरेको छ । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएअनुसार जिल्ला प्रशासन कार्यालयले पनि कोरोना भाइरसबाट बच्न अनिवार्य मास्क र सामाजिक दुरी कायम राख्न जिल्लाका नागरिकलाई अनुरोध गरेको हो ।

प्रशासनले एक सूचना जारी गर्दै कोरोना भाइरसबाट बच्न बाहिर निस्कदा अनिवार्य रूपमा मास्क लगाउन र सामाजिक दुरी कायम गर्न निर्देशन गरेको छ । प्रशासनले कोरोना भाइरसको जोखिम बढेको बेलामा मानिसले आवश्यक सुरक्षा नअपनाई बाहिर निस्कने, भीडभाग गर्ने जस्ता गतिबिधि बढेको भन्दै आवश्यक सुरक्षा व्यवस्था अपनाएर मात्र बाहिर निस्कनु पर्ने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेद्वारा हस्ताक्षरित सूचनामा यदि बाहिर निस्कदा, कसैले अटेर गरी मास्क नलगाएर र भीडभाड गरेमा पक्राउ गरी संक्रमण रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन अनुसार कारबाही गरिने जनाइएको छ ।

गृह मन्त्रालयले पनि स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न सबै प्रहरी र प्रशासनलाई निर्देशन दिएको थियो । लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अबलम्वन गरिएपनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकाले गृह मन्त्रालयले सचेत गराएको हो । सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक र बजार, कलकारखानामा मास्करसेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update