Shittalpati
क्वारेन्टाइनमा रहेका युवाहरुसँगै यसरी नाँचे प्रहरी जवान चौधरी

इमान सिं राना

पाल्पा (रामपुर)। समाज र प्रहरी बिचको सम्बन्ध कायम गर्नका लागि मुस्कान सहितको सेवा, समुदाय प्रहरी साझेदारी लगाएतका कार्यक्रम सञ्चालनमा रहेको छ । तर प्रहरीलाई स्थानीयले हेर्ने दृष्टिकोण भने अझै परिवर्तन भएको छैन् । अधिकांशको बुझाई प्रहरी भन्ने वित्तिकै अपराधी समाउने, सजाय दिने जस्ता नकारात्मक रुपमा लिईएको पाईन्छ । प्रहरीले सधैं अपराधी समाउने मात्र होइन समाज रुपान्तरणसंगै पिडामा रहेकाहरुलाई साथ पनि दिन्छन् भन्ने एक प्रहरी जवानले प्रमाणित गरिदिएका छन् । भारत तथा तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टाइनमा बसेका युवाहरुको हौसलाका लागि बर्दी मै नाचेका प्रहरी जवानले सो सावित गरिदिएका हुन् । समुदाय स्तरमा कारोना नफैलियोस् भन्नका लागि क्वारेन्टाइनमा बसेका युवाहरुसंगै सामाजिक दुरी कायम गरेर नाचेका उनको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । उनको यस कदमसंगै भिडियो हेर्ने जो कोहीले समग्र प्रहरी संगठनको प्रसंशा गरेका छन् ।

को थिए प्रहरी जवान ?

क्वारेन्टाइन स्थलमा युवाहरुसंगै छमछमी नाचेका प्रहरी जवान ईलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत दाङको राप्ती गाउँपालिका ८ देउखुरीका २६ वर्षिय जयप्रकाश चौधरी हुन् । लकडाउन सुरु भएसंगै रामपुर नगरपालिकाले वडा नं. ५ को बालकल्याण प्राथमिक विद्यालयको क्वारेन्टाइन र वडा नं. ४ को सीताराम मावि सदावर्तको क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका उनले ९४ दिन क्वारेन्टाइनमा रहेका युवाहरुसँग विताएका छन् । बालकल्याणको क्वारेन्टाइन पश्चात जेठ १२ गते भारतबाट आएका १३ जना युवाहरुलाई क्वारेन्टाइनमा राखेसंगै उनी त्यहीको सुरक्षार्थ खटिएका थिए । सोही क्रममा क्वारेन्टाइन अवधिमा क्वरेन्टाइन स्थलमा तानेको डोरी बाहिर उनी र भित्र युवाहरु नाचेको भिडियो भाईरल भएको हो । भिडियो असार ९ गते अपलोड भए पनि उनी नाचेको भिडियोले अहिले सामाजिक सञ्जाल भरिएको छ ।

१३ जना युवाहरु मध्ये २ जनामा संक्रमण देखिएसंगै कन्ट्रयाक ट्रेसिङ्गमा परेका ११ जनालाई जेठ २६ गते स्वाव संकलनपछि क्वारेन्टाइनमै राखिएको थियो । चौधरीले भने, ‘लामो समयसम्म रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बस्नेहरु आत्तिएका थिए । कतिपय त भाग्छु भनेका थिए । गित बजाउन स्पिकर ल्याए पछि दिन कटाउन उनीहरुलाई सहज भयो । भाग्छु भन्न छाडे ।’ उनले युवाहरुलाई साथ दिन र हौसला बढाउनका लागिसँग संगै नाचेको बताए । उनले थपे, ‘यसरी भिडियो भाईरल होला भनेर त एक मनले पनि सोचेको थिएन । उनीहरुसंगै दुरी कायम गरे नाच्दै रमाउँदै आएका थियौ । ८ गते ११ जनाको रिपोर्ट नेगेटिभ आयो । खबर सुने पछि उनीहरु रातभरी नाचेका थिए । संगै मैले पनि साथ दिएको थिएँ ।’ उनी नाचेको भिडियो क्वारेन्टाइनमा रहेका रामपुर ९ का देव खन्गाहा मगरले असार ९ गते फेसबुकमा पोष्ट गरेका थिए । ८ वर्षदेखि प्रहरी सेवामा खटिएका चौधरीले २/३ दिन यता भिडियो भाईरल भएको र सबैले फोन गरेर हौसला प्रदान गरेको बताए ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update