Shittalpati
खोला र जंगलका भरमा जीवीकोपार्जन

पाल्पा । आर्थिक रुपमा अतिविपन्न परिवारमा जीवीकोपार्जनमा समस्या देखिएको छ । बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदाय घरमा नुनतेललगायत खाद्य पदार्थको अभाव भएपछि खोला र जंगलका भरमा जीवीकोपार्जन गर्न बाध्य छ । कुमाल समुदायले खोलामा माछा, गँगटा र घोँगी तथा वनमा च्याउ खोजेर बजारमा ल्याई बेचेको आम्दानीबाट परिवारको जीवीकोपार्जन गर्दै आएको छ । कोभिड –१९ का कारण गरिएको बन्दाबन्दीले स्थानीयस्तरमा ज्याला, मजदूरीका अवसर गुमेपछि श्रमजीवी समुदाय मर्कामा परेको छ । दिनभर श्रम गरी परिवारका लागि साँझ र बिहानको जोहो गर्नेहरुलाई बन्दाबन्दीबाट चर्को समस्या देखिएको छ । स्थानीय तहमा विकासनिर्माणका कामबाहेक अन्य काम हुन नसक्दा श्रमजीवी समुदायलाई परिवारको जीवीकोपार्जनमा चुनौती थपिएको हो ।

घोरबन्दाका ५९ वर्षीय मानबहादुर कुमालले तानसेनको हुलाङ्दी हुँदै बगेको प्रभाव खोलामा माछा मारेर बजारमा बिक्री गरी दैनिक गुजारा चलाउने गरेका छन् । घरबाट झण्डै दुई घण्टा टाढाबाट माछा मार्न आउनुभएका कुमाल दिनभर जसोतसो एक माना माछा मार्न धौधौ हुने बताउन्छन् । ‘गाउँमा रोजगारीका अवसर छैन । कोरोना भाइरसका कारण गाउँ तथा शहरमा ज्याला मजदूरी समेत गर्न नपाएपछि कहिले खोलामा माछा मार्न त कहिले वनमा च्याउ खोज्न हिँडेका छाँै’, मानबहादुरले भने, ‘कसरी हुन्छ दुईचार पैसा कमाउने र परिवारलाई पालनपोषण गर्ने गर्छाैँ, अहिले त निकै समस्या भएको छ ।’ घोरबन्दाका २१ वर्षीय खिमन कुमाललाई पनि घर खर्च जुटाउन समस्या परेको छ । बन्दाबन्दीका कारण श्रम पोखेर दुईचार रुपैयाँ आम्दानी गर्न निकै सास्ती भएको उनी बताउन्छन् । ‘गाउँमा रोजगारी नभएपछि कहिले खोला र कहिले जङ्गलकै यात्रा तय हुन्छ । दिनभर खोलामा माछा मार्न हिँडे पनि एक माना बनाउन बडो मुश्किल हुन्छ ।

तीनचार सय रुपियाँ आम्दानी मात्र हुँदा परिवारको खर्च जुटाउन समस्या हुँदै आएको छ’, खिमनले भने, ‘कोरोना भाइरसका कारण गाउँ फर्केकाहरु समेत अहिले समय बिताउन र तरकारीको अभाव हटाउन माछा मार्न खोलामा पस्दा माछा देखिन छाडेका छन्’, खिमनले भने । आर्थिक स्थिति कमजोर र काम गर्न नपाउँदा घरमा नुनतेल र चामलको अभाव बढेको छ । कोभिड –१९ फैलिएपछि जन्मथलो फर्केका युवा पनि अहिले खोलामा माछा मार्न व्यस्त देखिएका छन् । विदेशबाट कमाएर ल्याएको पैसा सकिएपछि उनीहरु खोलामा माछा मार्न पल्किएका छन् । तानसेनका दमकडा र तिनाउखोला, माथागढी गाउँपालिकाका सराई, खहरे र दोरा तथा तिनाउ गाउँपालिकाका दोभान र कचल क्षेत्रमा माछा मार्न खोलामा धेरै मानिस देखिएको स्थानीय बासिन्दाको भनाइ छ । रैनादेवी छहरा गाउँपालिका–४, मङ्गलका बासिन्दा दामोदर क्षेत्रीले खोलामा दैनिक दश समूह माछा मार्न आउने गरेको बताए । आगामी वर्ष खोलाका माछा भेटाउन मुश्किल हुने स्थानीय बासिन्दाको भनाइ छ । -रासस

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update