Shittalpati
नमूना गाउँपालिका बनाउने योजना सहित तिनाउको गाउँसभा सकियो

विष्णु पाण्डेय

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकाले नमूना गाउँपालिका बनाउने योजना सहित सातौ गाउँसभा सकेको छ । गाउँपालिकाले आगामी ३ बर्ष भित्र नमुना गाउँपालिका बनाउने योजना सहित गाउँसभा सकेको हो । गाउँपालिकाले सेवाप्रवाहलाई सहज बनाउन आफ्नै भवन निर्माणको लागि २ करोड ५० लाख छुट्याएको छ । ४ वटा वडा कार्यालय निर्माणको लागि ६५/६५ लाख छुट्याइएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताए । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कोरोना व्यवस्थापन, कृषि तथा पशुपालनमा प्राथमिकता, शिक्षा, युवा स्वरोजगार तालिम, खरका छाना बिस्तापित गर्न कर्कट पाता वितरण, मिनिटिलर वितरण, खानेपानी वितरण सँगै यातायातलाई प्रामिकता दिदै ५२ करोड को बजेट ल्याएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि दुधमा प्रतिलिटर २ रुपैयाँ अनुदान समेत दिने जनाएको छ । पालिकाले माध्यमिक तहलाई आवासिय विद्यालयका रुपमा विकास गर्ने समेत जनाएको छ । असार ८ गते प्रदेश सांसद तुलाराम घर्ती मगरबाट उद्घाटन गरिएको सभामा गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरबाट नीति तथा कार्यक्रम प्रस्तुत त्यसमाथि सुझाव सहित पारित गरिएको थियो । १० गते गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाबाट आगामि आर्थिक वर्ष २०७७/०७८ को लागि प्रस्तुत बजेट, त्यस पछि कृषि,पशु,शिक्षा,स्वास्थ ,सहकारी लगायतका विषयगत शाखाबाट प्रस्तुत बजेट तथा कार्यक्रममाथि क्रमश छलफल गर्दै बजेट तथा कार्यक्रम सर्वसहमतिले पास गरेको छ । सभामा गाउँपालिकाका सदस्यहरू,राम बहादुर पल्ली,शान्ति विक ,हेम बहादुर दर्लामी, अमर तरामु लगायतले आफ्नो जिज्ञासा राखेका थिए । गाउँपालिका अध्यक्ष घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दमयन्ती थापा, गाउँपालिकाका प्रबक्ता राजेश श्रेष्ठ,वडा अध्यक्षहरू रोम बहादुर लम्तरी,दान बहादुर गाहा, दल बहादुर दर्लामी र टोप बहादुर पुनले आ–आफना धारणा राखेका थिए । कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update