Shittalpati
बाढीपीडितका लागि लायन्स रानीमहलको १ लाख ३६ हजार सहयोग

पाल्पा,  बाढीपहिरोबाट प्रभावित परिवारका लागि लायन्स क्लब अफ पाल्पा रानीमहलले १ लाख ३६ हजार ५ सय ५५ रुपैयाँ बराबरको राहत सहयोग गरेको छ ।  क्लबले नगदसँगै खाद्यान्न, सरसफाइ सामग्री र कपडा संकलन गरी लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पीमार्फत प्रभावित क्षेत्रमा पठाएको हो ।

बुटवलस्थित डिस्ट्रिक्ट ३२५ पीको सचिवालयमा आयोजित कार्यक्रममा क्लबले ५१ हजार ५ सय ५५ रुपैयाँ नगद र ८५ हजार रुपैयाँ बराबरका राहत सामग्री डिस्ट्रिक्टका गभर्नर सन्दीप कसौधनलाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरिएको राहत प्रभावित क्षेत्रमै पुर्‍याएर आवश्यकताका आधारमा वितरण गर्ने जिम्मेवारी डिस्ट्रिक्टले लिएको क्लबका अध्यक्ष करुणा काफ्लेले जानकारी दिए । बाढीपहिरोका कारण समस्यामा परेका नागरिकसम्म आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले डिस्ट्रिक्टमार्फत राहत हस्तान्तरण गरिएको अध्यक्ष काफ्लेले बताए । विपद्का बेला प्रभावित परिवारको आवश्यकता पहिचान गरी सहयोग गर्न क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

राहत ग्रहण गर्दै गभर्नर कसौधनले विपद्को समयमा लायन्स क्लब अफ पाल्पा रानीमहलले गरेको मानवीय सहयोगको प्रशंसा गरे । उनले प्राप्त नगद तथा सामग्रीलाई सम्बन्धित बाढी प्रभावित क्षेत्रमा शीघ्र पुर्‍याई आवश्यकताअनुसार वितरण गरिने बताए । क्लबले विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले संकलन गरेको राहत डिस्ट्रिक्टमार्फत प्रभावितसम्म पुर्‍याउने व्यवस्था मिलाएको  एम्बेस्डर अफ गर्भनर गंगा बहादुर खत्रीले बताए । राहत सहयोगले बाढीपहिरोका कारण कठिन अवस्थामा रहेका परिवारलाई तत्कालीन आवश्यकतामा केही सहजता पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update