पाल्पा, प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
जनै पूर्णिमा नेपाली समाजको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व हो। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले धार्मिक आस्था, पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई एकै सूत्रमा बाँध्ने काम गर्दै आएको छ। हिन्दु समुदायमा यस दिन वैदिक परम्पराअनुसार जनै फेर्ने तथा रक्षा सूत्र बाँध्ने चलन छ भने विभिन्न समुदायले आ–आफ्नै सांस्कृतिक परम्पराअनुसार यो पर्व मनाउँछन्। त्यसैले जनै पूर्णिमा कुनै एक धर्म वा समुदायको मात्र पर्व नभई नेपाली विविधताको एउटा सुन्दर प्रतिबिम्बसमेत हो।जनै पूर्णिमाले मानिसलाई आफ्नो संस्कृति र परम्पराप्रति जिम्मेवार बन्न प्रेरित गर्छ। दिदीबहिनी, दाजुभाइ, आफन्त र समुदायबीचको आत्मीयता बढाउने अवसरका रूपमा समेत यस पर्वको विशेष महत्व छ। विशेषगरी रक्षाबन्धनका माध्यमबाट एक–अर्काप्रतिको माया, विश्वास र संरक्षणको भाव अभिव्यक्त हुन्छ।तर पछिल्लो समय नेपाली समाजमा नयाँ पुस्ताले भने फुल्दै जान थालेका छन् । उनीहरुले कि त जनै लगाउँदैनन कि त सबै बिधि पूरा गर्दैनन् । यसको सामाजिक महत्व हुँदा हुँदै पनि आजभोलिका युवाले जनैमा विश्वास गर्दैनन् । पश्चिमा संस्कृतिले पनि नेपाली संस्कृतिलाई विस्थापित गर्दै लगेको छ । नेपाली परम्पराअनुसार मान्दै आइएका यी परम्परालाई पछिल्लो पुस्ताले ध्यान दिन सकेको छैन । अगाडिका वर्षमा धुमधामका साथ मनाइने जनै पूर्णमा आजकाल भने सामान्य जस्तै बनेको छ ।
हराउँदै हाते जनै र डोरोको प्रचलन
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमामा प्रयोग गरिने जनै र डोरोको प्रचलन गाउँघरमा आजभोलि भने कम हुँदै गएको छ । पहाडी जिल्लामा पनि जनै पूर्णिमामा डोरो बाँध्ने परम्परा छ भने तराईका जिल्लाहरूमा जनै पूर्णिमासँगै राखी बाँध्ने परम्परा रहँदै आएको छ । वैद्यिक गुरु परम्परा अनुसार जनैलाई ब्रम्ह्रासुत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । पहिला–पहिला घरमानै डोरो र जनै बनाएर श्रावण सुक्ल पूर्णिमाको दिन त्यसलाई पुजेर लगाइने गरेको भएपनि आजभोलि बजारमा आयातित जनै र डोरोको प्रयोग बढ्दै जाँदा घरमा बनाउने जनै र डोरोको प्रचलन भने हराउँदै गएको छ । नेपालमा पछिल्लो समय भारतबाट आयात गरिने जनै र डोरोसहित राखिको प्रचलन बढ्दै गएको देखिन्छ । बजारमा जताततै खरिद गर्न पाइन थालेपछि अहिले गाउँघरमा निर्माण गरिने जनै र डोरोको प्रचलन कम हुँदै गएको हो ।
यसरी बन्छ जनै
बजारबाट ल्याएको काँचो धागोलाई सानो चर्खाको सहायताले संगालेर जनै बनाउने गरिन्छ । कतुवाको सहायताले काँचो धागो बाटेपछि जनैको डोरा तयार हुन्छ । काँचो धागोको २७ सरा बेरेर ३ सरे र ५४ सरा बेरेर ६ सरे जनै तयार हुन्छ । शिखासहितको जनैलाई वैदिक मन्त्रले मन्त्रेपछि त्यो पूर्ण हुन्छ । शिखा जनैको महत्वपूर्ण भाग हो । यसलाई ब्रम्हगाँठो समेत भनिन्छ । स–साना नियमलाई उन्दै गएर जनै तयार हुन्छ । शास्त्रीय भाषामा जनैलाई यज्ञोपवित भनिन्छ । ब्राह्मणले उपनयन गरेपछि वेद पढ्नुपर्ने र वेद पढ्न जनै (बह्ममसूत्र) लगाएरै पढ्नुपर्ने मान्यता छ । यसले मान्छेलाई सांस्कृतिक रुपमा अनुशासित बनाउने विश्वास रही आएको छ ।


