पाल्पा, संस्कृत भाषाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले आज विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा) को दिन पारेर यो दिवस मनाउने गरिन्छ । विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो ।
संस्कृत भाषाको महत्व र यसको ऐतिहासिक, सांस्कृतिक तथा साहित्यिक योगदानबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालका विभिन्न स्थानमा संस्कृत दिवससम्बन्धी कार्यक्रम आयोजना गरिएका छन्। कार्यक्रममा संस्कृत भाषा, साहित्य, दर्शन तथा संस्कृतिको संरक्षणमा जोड दिइएको छ।
संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रचार प्रसारमा सहयोग पुर्याउने हेतुका साथ आजको दिन यो दिवस मनाइँदै छ । श्रावण शुक्ल पूर्णिमा ऋषिहरूसँग जोडिएको ऋषि तर्पणीको दिन भएकाले यो दिन विश्व संस्कृत दिवस मनाउन थालिएको हो ।
ऋषिले नै वेदका मन्त्र ध्यान दृष्टिका माध्यमबाट देखेकाले पनि यसैदिन संस्कृत दिवस मनाउन उपयुक्त हुने भएकाले यसको सुरुवात गरिएको जानकारहरु बताउँछन् । संस्कृतलाई सबैभन्दा पुरानो भाषाका रूपमा लिइन्छ । नेपालमा जरो किलो प्रतिष्ठान नेपालले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन दिवस मनाउने गर्दछ । प्राचीनतम् भाषा संस्कृतको विश्वमै उपयोगिता र महत्व बढ्दै गए पनि यसको उदगमस्थल नेपालमा भने चासो कम हुन थालेकाले दिवस मनाउन शुरु गरिएको प्रतिष्ठानले जनाएको छ ।


