![कालिगण्डकी गाउँपालिकामा आरडिटी परीक्षण गरेकै एक हजार !](https://www.shittalpati.com/uploads/posts/1593937555rdt.jpg)
विष्णु पाण्डेय
पाल्पा । सरकारले कोरोना भाइरस परीक्षण गरेको शुल्क नलिन भने पनि स्याङजाको एक स्थानीय तहले भने आरडिटी परीक्षण गरेको शुल्क लिएको पाइएको छ । कालिगण्डकी गाउँपालिकाले बाहिरबाट जाने नागरिकहरुको आरडिटी परीक्षण गरे बापत एक हजार लिने गरेको खुल्न आएको हो । गाउँपालिकाले आफै आरडिटी किट खरिद गरेर परीक्षण गर्नु पर्ने भएकाले शुल्क लिनुपरेको बताएको छ । पछिल्ल्लो समय आरडिटीको विश्वसनियता घटिरहेका बेला गाउँपालिकाले भने आरडिटीमा जोड दिइरहेको छ । गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले अन्य जिल्लाबाट मान्छेहरु चोर बाटो हुँदै गाउँपालिका भित्र प्रवेश गर्ने गरेकाले यसो गर्नुपरेको बताउछन् । उनि भन्छन् ‘बाहिरबाट मान्छे आएर लुकेर बस्न थाले केहि दिन मान्छेलाई क्वारेन्टाइनमै राख्यौँ तर त्यो सम्भव नभएपछि सबै वडामा यो नियम लागु गरेका हौँ ।’ आउने दिनमा नै फर्कन चाहानेलाई भने यसो नगरिने उनले बताए । क्वारेन्टाइनमा बस्न चाहेको खण्डमा भने निःशुल्क कोरोना जाँच हुने उनले बताए ।
पाल्पा तानसेनबाट गतहप्ता स्याङजा गएकी शशि थापाले भनिन् ‘आउदा रातको ११ बज्यो अर्को दिन बिहानै आरडिटी चेक गर्न १ घण्टा हिडेर हटिया गएँ, वडा कार्यालयमा बिल काटे तर १० बजे पुगेको २ बजेमात्र आरडिटी चेक भयो, रिपोर्ट नेगेटिभ देखियो अनि घर आएँ । खाजा पनि होटेलमा नखाई बाटोमा लुकेर खानुपरेको उनि बताउँछिन् ।’ अर्का एक हजार तिरेर आरडिटी गराएका राम बहादुर सोमैले भने ‘यसरी हजार रुपैयाँ खर्च गरेर जाँच गरायसी नी ढुक्क हुने ठाउँ छैन, गाउँपालिकाले आरडिटी बन्द गरेर पिसिआरमा लागे हुन्थ्यो ।’ अहिले पालिकाका चार वटा ठाउँबाट शुल्क लिदै आरडिटी परिक्षण भैरहेको छ । यसबारे स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीसँग सम्पर्क गर्दा आफुलाई यो कुरा भर्खर मात्र थाहा भएको र यो कानुन संवत नभएको बताए । यो विषयमा बुझ्ने उनले बताए ।