पाल्पा, यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाबाट संकलन हुने राजस्व बढेको छ । चालक अनुमति पत्र र सवारी साधनमा वृद्धि भएसँगै आर्थिक वर्ष २०८२/०८३ मा राजस्व संकलनमा वृद्धि भएको हो ।
आर्थिक वर्ष २०८२/०८३ मा २२ करोड १७ लाख ७१ हजार १ सय १० रुपैयाँ राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २ करोड रुपैयाँले बढी हो । कार्यालयका निमित्त प्रमुख श्रीराम पाण्डेका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा २० करोड १९ लाख २० हजार ८ सय ९० रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक बर्ष २०८२ श्रावणदेखी २०८३ असार मसान्त सम्मको अवधिमा विभिन्न ९ वटा शीर्षकबाट राजस्व वृद्धि भएको उनले बताए । कार्यालयले सवारी साधन करबाट १७ करोड २९ लाख ८ हजार ५ सय ३५ रुपैयाँ, सवारी नवीकरणबाट १ करोड १२ लाख ८३ हजार ४ सय ५० रुपैयाँ, सवारी चालक अनुमति पत्र शुल्कबाट २ करोड ८७ लाख ९९ हजार रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट २६ लाख ६८ हजार ३ सय रुपैयाँ, आयकरबाट ५९ लाख ८४ हजार ८ सय २५ रुपैयाँ तथा अन्य प्रशासनिक सेवा शुल्कबाट १ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
एक वर्षको अवधिमा कार्यालयबाट ३५ हजार १ सय ४६ वटा निजी तथा सरकारी सवारीसाधन नवीकरण भएका छन् । त्यस्तै १ हजार ५ सय ७१ वटा सवारीसाधनको स्थायी रुट इजाजतपत्र नवीकरण, १ हजार ३ सय ६२ वटा सार्वजनिक सवारीसाधनको प्राविधिक जाँचपास तथा ५ हजार सवारीसाधनले अस्थायी रुट इजाजतपत्र (पटके) सेवा लिएका छन् । चालक अनुमति पत्रतर्फ ७ हजार ७ सय ७३ जनाले नयाँ लाइसेन्सका लागि आवेदन दिएका थिए । लिखित परीक्षामा ६ हजार ३ सय ९८ जना उत्तीर्ण भएका छन् भने ५ हजार ५ सय ४१ वटा नयाँ चालक अनुमति पत्र जारी गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी ट्रायल परीक्षामा ११ हजार ३ सय ७ जना सहभागी भएकामध्ये ५ हजार ८१ जना उत्तीर्ण भएका छन् ।
३ हजार ६ सय १० जनाले पुनः रि–ट्रायल दिएका छन् । सवारी चालक अनुमति पत्रमा वर्ग थपका लागि १ हजार ५ सय ६२ जनाले आवेदन दिएकामध्ये ६ सय ४९ जनाको वर्ग थप भएको छ । साथै ४ हजार ५ सय ५१ जनाले चालक अनुमति पत्र नवीकरण गराएका छन् भने ४ जनाले प्रतिलिपि लिएका छन् । कार्यालयले समीक्षा अवधिमा ११४ वटा लिखित परीक्षा र ३४ वटा ट्रायल परीक्षा सञ्चालन गरेको निमित्त प्रमुख पाण्डेले जानकारी दिए । हाल कार्यालयबाट दुइपाङ्ग्रे (स्कुटर, मोटरसाइकल) तथा चारपाङ्ग्रे (जिप, कार, भ्यान) का चालक अनुमति पत्र वितरण, सबै प्रकारका सवारीसाधन र चालक अनुमति पत्र नवीकरण, स्थायी तथा अस्थायी रुट इजाजत पत्रलगायतका सेवा प्रवाह हुँदै आएका छन् ।


