नेपालगन्ज, बाँकेको कोहलपुरमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा निस्सासिएर तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का ४१ वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३४ वर्षीय बिर्जा थारू रहेका छन्। घटनाको पुष्टि गर्दै बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा निस्सासिएर उनीहरूको मृत्यु भएको प्रारम्भिक आशङ्का गरिएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीभित्र तीनै जना फसेको अवस्थामा मृत फेला परेका थिए । उद्धारका लागि प्रहरी टोलीले जेसिबीको सहायतामा सेफ्टी ट्याङ्की फुटाएर आज बिहान तीनै जनाको शव बाहिर निकालेको थियो । मृतकहरूको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।


