कपिलवस्तु, कपिलवस्तुको तौलिहवा–बहादुरगन्ज हुलाकी सडकअन्तर्गत महाराजगन्ज नगरपालिका–२ स्थित गैंडहवा चोक नजिक बुधबार बिहान भएको सवारी दुर्घटनामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । बहादुरगन्जबाट तौलिहवातर्फ आउँदै गरेको ना ५ ख २३६४ नम्बरको मदिरा बोकेको ट्रकले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा स्थानीय १२ वर्षीय आनन्द कहार, महाराजगन्ज नगरपालिका–३ निवासी ७५ वर्षीय घोल्लर कुर्मी र ४५ वर्षीय विजयकुमार बनियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी स्रोतले जनाएको छ ।
बिहान करिब ७ः१५ बजे तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिएपछि स्थानीयवासी आक्रोशित बनेका थिए । स्थानीयको विरोधका कारण दुर्घटनास्थल बिहान करिब १० बजेसम्म तनावग्रस्त बनेको थियो । पछि प्रहरीले अवस्था नियन्त्रणमा लिएसँगै स्थिति सामान्य बनेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


