पाल्पा, रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखालेसूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । सन् २०२६ का लागि प्रथम चरणको आवेदन यही जुलाई २७ देखि अगस्ट २ सम्म दिन सकिने छ। यसपटक पनि आवेदन अनलाइनमार्फत दिन सकिने शाखाले जनाएको छ ।
यस वर्षदेखि दुई वटा नयाँ क्षेत्र थप भएका छन् । यसअघि उत्पादनमुलक, कृषि तथा पशुपालन क्षेत्र र सिप बिल्डिङमा मात्र परीक्षा हुने गरेको थियो । यसपटक सेवा र वन क्षेत्र थप भएका हुन् । शाखाका अनुसार पोइन्ट बेस्ड सेलेक्सन सिस्टमबाट अनुमानित उत्तीर्ण संख्या ७ हजार २०० हुने अनुमान छ । जसमा सबैभन्दा बढी उत्पादनमुलक क्षेत्रमा ५ हजार उत्तीर्ण हुने अनुमान छ । यसैगरी कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ हजार र वन क्षेत्रमा पनि १ हजार कोटा तोकिएको छ । प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कटलाइन निर्धारण हुनेछ । कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुनसक्छ ।
आवेदन संकलन प्रक्रिया सम्पन्न भई आवेदक संख्या निर्धारण भएपश्चात कार्यालयले परीक्षाको मिति तथा तालिका सार्वजनिक गर्ने शाखाले जनाएको छ । एक दिनमा बढीमा ५ सिफ्टमा परीक्षा सञ्चालन हुने र आवेदक संख्याका आधारमा वा अन्य विविध कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्नेछ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्र आवेदन दिन पाउने छन् । प्रथम चरण उत्तीर्ण गरेपछि छनोट गरिएको क्षेत्र परिवर्तन गर्न पाइने छैन । प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीहरूले दोस्रो चरणको सीप परीक्षण र कार्यक्षमता मूल्यांकनमा पनि उत्तीर्ण भएपछि मात्र अन्तिम छनोटमा पर्न सक्नेछन् । उत्पादनमूलक क्षेत्र, कृषि तथा पशुपालन क्षेत्र, सेवा क्षेत्र र वन क्षेत्रतर्फ परीक्षाको आवेदन फारम भर्दा सम्बन्धित क्षेत्रको कुनै एक उपक्षेत्र अनिवार्य छनौट गर्नु पर्नेछ ।
नेपाली नागरिक, उमेर १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानुनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको र कोरियामा ई–९ वा ई–१० भिसामा ५ वर्ष वा सो भन्दा बढी नबसेको हुनुपर्ने छ ।

