नैतिक शिक्षा भनेको सही र गलतको पहिचान गराई असल चरित्र निर्माण गर्ने शिक्षा हो । यसले व्यक्तिलाई सत्य, इमानदारी, अनुशासन, सहिष्णुता, करुणा, जिम्मेवारी र परोपकारका मूल्य आत्मसात गर्न प्रेरित गर्छ । केवल किताबी ज्ञान वा प्राविधिक सीपले मात्र समाज समृद्ध हुँदैन, असल चरित्र भएका नागरिकले मात्र सभ्य, शान्त र समुन्नत राष्ट्र निर्माण गर्न सक्छन् । आज नेपालमा भ्रष्टाचार, असमानता, सामाजिक दरार, लागूऔषध दुव्र्यसन, अपराधजस्ता समस्याहरु मौलाउँदै गएका छन् । यी समस्याहरुको समाधान कानुनी कठोरताले मात्र सम्भव छैन । नैतिक शिक्षाले नागरिकलाई विवेकशील, जिम्मेवार र सहिष्णु बनाउँछ । गौतमबुद्धको अष्टाङ्गिक मार्ग, वेद–उपनिषद् वा अन्य दर्शनहरु सबै नैतिक शिक्षाका उपज हुन् । यी शिक्षाले सत्य, शान्ति र अहिंसाको संवद्र्धन गर्छन् । त्यसैले, नैतिक शिक्षा कुनै धार्मिक कर्मकाण्ड होइन, यो सामाजिक सहअस्तित्व र सभ्यताको आधार हो । नैतिक शिक्षाको व्यावहारिक प्रयोगले जीवनलाई उद्देश्यपूर्ण र नतिजामुखी बनाउँछ । बालबालिकाले गुरू र अभिभावकको सम्मान गर्न सिक्छन्, नागरिकले समाजप्रति उत्तरदायित्व बुझ्छन् ।
अर्कोतर्फ आजका युवापुस्ता सामाजिक सञ्जाल र प्रविधिको व्यापक प्रभावमा छन् । प्रविधिको सदुपयोगसँगै यसको दुरुपयोग पनि बढिरहेको छ । गलत सूचना, घृणात्मक अभिव्यक्ति, साइबर दुव्र्यवहार र हिंसात्मक प्रवृत्तिले सामाजिक सद्भावमा चुनौती थपेका छन् । यस्ता समस्याबाट जोगिन नैतिक शिक्षा प्रभावकारी माध्यम बन्न सक्छ । यसले व्यक्तिलाई विवेकपूर्ण निर्णय गर्न, अरूको अधिकारको सम्मान गर्न र जिम्मेवार नागरिकका रूपमा व्यवहार गर्न सिकाउँछ । नैतिक शिक्षाको जिम्मेवारी विद्यालयमा मात्र सीमित छैन । परिवार बालबालिकाको पहिलो विद्यालय हो, जहाँबाट उनीहरूले व्यवहार, संस्कार र मूल्य सिक्छन् । त्यसैगरी विद्यालय, समुदाय, सञ्चारमाध्यम र राज्यले पनि नैतिक मूल्यको प्रवद्र्धनमा समान रूपमा योगदान दिनुपर्छ । पाठ्यक्रममा नैतिक शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउँदै शिक्षक तथा अभिभावकले पनि उदाहरणीय आचरण प्रस्तुत गर्न आवश्यक छ । विश्वका धेरै अनुसन्धानहरुले नैतिकतालाई सफलताको प्रमुख कारक ठहर गरेका छन् । व्यक्तिगत समस्याहरुको समाधान नैतिक शिक्षाबाट सम्भव हुन्छ, जसले मानवताविरोधी समस्याहरुलाई समाधान गर्न सक्छ । तसर्थ समयको मागअनुसार नैतिक शिक्षालाई विद्यालय, परिवार र समाजका प्रत्येक तहमा प्रभावकारी रूपमा लागू गर्नु आजको अपरिहार्य आवश्यकता हो ।

