Shittalpati
हैजाबाट बच्न सावधानी अपनाऔं

वर्षायाम सुरु भएसँगै हैजाजस्ता पानीजन्य सरुवा रोग फैलिने जोखिम बढ्ने गर्दछ । देशको संघीय राजधानी काठमाडौंमा अहिले हैजाका विरामी बढ्दै गएका छन् । निरन्तर हैजाका बिरामी बढेसँगै सचेचना अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ । तर के के गर्दा के हुन्छ भन्नेतर्फ खासै चाँसो न त सम्बन्धित निकायलाई छ न त सर्वसाधारणलाई नै । यसको प्रमुख कारण दूषित पानी र खानेकुरा नै हो । वर्षाको समय भएकाले पानीका मुहानहरु दूषित हुने गर्दछन् । यस्तो दूषित पानी पिउनाले हैजासहित विभिन्न रोगहरु लाग्ने गर्दछ । यो समयमा खानपिन तथा सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

दूषित पानी र अस्वच्छ खानाको सेवनका कारण फैलिने हैजा समयमै उपचार नपाए ज्यानै जाने अवस्था पनि आउन सक्छ ।  त्यसैले हैजाबाट बच्न व्यक्तिगत, पारिवारिक र सामुदायिक स्तरमा विशेष सावधानी अपनाउनु आजको आवश्यकता हो । खुला ठाउँमा दिसापिसाब गर्ने, फोहोर व्यवस्थापनमा लापरवाही गर्ने तथा हात नधुने बानीले रोग फैलिन अझ सहज बनाउँछ । विशेषगरी वर्षायाममा पानीका स्रोत दूषित हुने भएकाले सुरक्षित र उमालेको वा शुद्धीकरण गरिएको पानी मात्र पिउने बानी बसाल्नुपर्छ । साथै ताजा र राम्रोसँग पकाइएको खाना खाने, फलफूल तथा तरकारी सफा पानीले धोएर मात्र प्रयोग गर्ने र खाना खानुअघि तथा शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुने बानी अनिवार्य बनाउनु आवश्यक छ । अझै पनि कतिपय स्थानमा खानेपानीको पाइप ढलसँगै गाडिएका छन् । पाइपमा चुहावट हुँदा ढलको पानी मिसिने जोखिम रहन्छ । घरघरमा आपूर्ति हुने पानी उमालेर वा शुद्धीकरण नगरी पिउने बानी पनि यसै सन्दर्भमा जोडिएको अर्को समस्या हो ।  पानी वितरण गर्ने निकायले केवल आपूर्ति बढाएर उनीहरूको जिम्मेवारी पूरा हुँदैन । उपभोक्ताको धारासम्म पुग्ने पानी सुरक्षित छ कि छैन भन्ने परीक्षण नियमित हुनुपर्छ । जीवाणुको उपस्थिति लगायतका अन्य परीक्षण सार्वजनिक गर्ने प्रणाली विकास गर्न आवश्यक छ । सुरक्षित पानी स्वास्थ्य अधिकारको आधारभूत सर्त हो । विगतमा नेपालले हैजाको प्रकोप भोगिसकेको छ । त्यसैले अहिलेको अवस्थालाई बेवास्ता गर्नु बुद्धिमानी हुँदैन । हैजा विशेष गरी ‘भिब्रियो कोरेला’ नामक ब्याक्टेरियाका कारण लाग्ने अति सङ्क्रामक झाडापखाला हो । खास गरी हैजा दूषित पानी, बासी तथा सडेगलेका खानेकुरा, काँचा खानेकुरा एवं सङ्व्रmमित व्यक्तिले चलाएका सरसामानको माध्यमबाट सर्छ । यी कुराहरुमा पर्याप्त सावधानी नअपनाइए हैजाबाट मृत्यु समेत हुने गर्दछ । तसर्थ यसतर्फ सावधानी अपनाउन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update