पदम न्यौपाने
तानसेनलाई अब विभिन्न विशेषण थपेर परिचय दिइरहनु आवश्यक छैन । आवश्यकता छ त मात्र आफैलाई चिनिदिए मात्र पुग्छ । हिजो छिमेकी जिल्लाहरुको व्यापारिक हब र शिक्षा आर्जनका लागि विभिन्न जिल्लाबाट आउने विद्यार्थीहरुको बजारमा बास र हरेक गल्लीमा मालसामान खरिद एवं प्रशासनिक कामका लागि ग्रामीण भेगबाट आउने मानिसहरुबाट पसलमा थपिएको लामबद्ध घुइँचोको पृष्ठभूमिको कल्पना गरेर मात्र हुदैन । बदलिदो परिस्थिति,बढ्दो पहुँच अवस्थाका साथै हामीसँग भएका नयाँ अवसर थप्ने आधारहरुको आंकलन गरेर नयाँ नीति रणनीतिका लागि तयार हुनुपर्ने हो तर कता–कता यस पक्षमा तानसेन चुकी रहेको होकी भन्ने भान परिरहेको छ । अब तानसेनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । नयाँ केही गर्नुपर्दैन मात्र भएका सम्पतिको सार्वजनिक हितका लागि कसरी उपयोग गर्न सकिन्छ र बदलिदो परिस्थिति र सृजित अवसरको उपयोग गर्नेबारे केन्द्रित भए पुग्छ । त्यसो भए तानसेनलाई कसरी हेर्ने भन्ने सन्दर्भमा नेपालका सबैभन्दा ऐतिहासिक, सांस्कृतिक र मध्ययुगीन शहरी संरचना सुरक्षित रहेका शहरहरूमध्ये को शहर एक हो भन्ने गौरवन्वित अनुभूति गर्न जरुरी देखिन्छ । तानसेनको विशेषता केवल सुन्दर पहाडी शहर हुनुमा मात्र सीमित छैन; तानसेन नेपालको ऐतिहासिक, सांस्कृतिक, मध्ययुगीन शहरी संरचनायुक्त, पहाडी, व्यापारिक तथा पर्यटकीय महत्व बोकेको जीवित सम्पदायुक्त शहर हो । यसर्थ यसलाई मध्ययुगीन शहरी संरचनायुक्त ऐतिहासिक शहरका रूपमा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्य राख्ने हो भने, हामीले केवल पुराना घर वा मन्दिर हुनु मात्र पर्याप्त हुँदैन भनेर बुझ्नुपर्ने हुन्छ । युनेस्कोले सम्पूर्ण ऐतिहासिक शहरी संरचना, यसको मौलिकता र संरक्षण व्यवस्थालाई केन्द्रमा राखेर हेर्ने गर्दछ ।
तानसेन कस्तो शहर हो, आधार के हुन ? : तानसेन मध्ययुगीन शहरी संरचनायुक्त शहर भनिन्छ किनकी यहाँ साँघुरा ढुङ्गे गल्ली, परम्परागत बस्ती, चोक, टोल, मन्दिर र दरबारको योजनाबद्ध संरचना अझै धेरै हदसम्म सुरक्षित अवस्थामा छ । यो एतिहासिक शहर हो । वि.स. १८४४ मा महादत्त सेनद्धारा राजधानी कायम गरी यहाँ बस्ति बसाई श्रीनगर शहरको नामाकरण गरेका थिए । पछि यो पश्चिम नेपालको प्रमुख प्रशासनिक र व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको हो । तानसेन एउटा महत्वपूर्ण सांस्कृतिक शहर हो । विशेषगरी नेवार, मगर, ब्राह्मण, क्षेत्री लगायत विभिन्न समुदायको सहअस्तित्वले समृद्ध संस्कृति निर्माण गरेको देख्न पाइन्छ । कुनै बेलाको व्यापारिक केन्द्रको रुपमा स्थापित शहर हो । यो तिब्बत र भारत जोड्ने पुरानो व्यापारिक मार्गको महत्वपूर्ण केन्द्र थियो । अहिले कालिगण्डकी करिडोरले यसलाई झनै जीवन्त बनाउन सक्ने सम्भावना छ । यो पर्यटकीय शहर हो । प्राकृतिक सौन्दर्य, अनुकुल मौसम र स्वच्छ वातावरण सहित सांस्कृतिक सम्पदा, धार्मिक स्थल र ऐतिहासिक संरचनाले पर्यटकलाई आकर्षित गर्दै गएको छ । यो सुन्दर पहाडी शहर हो । यो समुद्री सतहबाट करिब १,३००–१,४०० मिटर उचाइमा अवस्थित भएकाले यहाँको मौसम अधिकांश समय सुहाउँदो हुन्छ । यसैका कारण भारतीय पर्यटकका लागि आकर्षणको थलो बन्दै गएको छ । श्रीनगरडाँडा बाट हिमाल र तराईको मनोरम दृश्य देख्न सकिने थलो, अमर नारायण मन्दिर, भगवती मन्दिर, शीतलपाटी, दरबार परिसर, पुराना ढुगेधारा, परम्परागत नेवारी शैलीका घर,टोल र ढुङ्गाले छापिएका गल्ली जस्ता सम्पदा जीवन्त रहेका छन् । प्रसिद्ध पाल्पाली ढाका उद्योग र हस्तकलाको नमूना करुवा लगायतले प्रशिद्धी कायम गरेका छन् । रानीमहल जस्तो नेपालको अनुपम ऐतिहासिक स्मारक, चारधाम मध्यको एक प्राचिन इतिहास र गौरव बनेको रिडि ह्षिकेश मन्दिर नजिकै अवस्थित छन् । यस्ता दर्जनौ सम्पदाहरुले तानसेन विश्व सम्पदा बन्न सक्ने सम्भावनाको नजिक रहेको छ । तानसेनलाई सन २००८ देखि युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने सम्भावना भएको मध्ययुगीन पहाडी शहरका रूपमा चर्चा गर्दै आएको छ । यसका कारणहरू उल्लेख गर्दै युनेश्कोले तानसेनमा ऐतिहासिक शहरी संरचनाको मौलिकता देखेको छ, सांस्कृतिक विराशतको निरन्तरता देखेको छ, वास्तुकलाको विशिष्टता देखेको छ, जीवित परम्पराको महशुस गरेको छ र यी सम्पदा प्राकृतिक परिवेशसँगको सामञ्जस्य समावेश भएको पाएको छ । तर, विश्व सम्पदा सूचीमा सूचीकृत हुन संरक्षण, व्यवस्थापन योजना, कानुनी सुरक्षा, सम्पदाको मौलिकता (Authenticity) र अखण्डता (Integrity) जस्ता अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न आवश्यक देखिन्छ ।
यसका लागि केही मुख्य आधारहरू पूरा गर्नुपर्ने हुन्छ :
सम्पदाको मूल्य र असाधारण विश्वव्यापी महत्व (Outstanding Universal Value OUV) प्रमाणित गर्नुपर्छ । तानसेन नेपालको मध्यपहाडी क्षेत्रमा मध्ययुगीन व्यापारिक, सांस्कृतिक र प्रशासनिक केन्द्रका रूपमा किन विश्वमै विशेष र यूनिक छ भन्ने प्रमाण प्रस्तुत गर्न सक्नुपर्दछ । विद्यमान मध्ययुगीन शहरी संरचना सुरक्षामा विशेष ध्यान दिइएको र सुरक्षित छ भन्ने आधार हुनुपर्छ । यहाँका साँघुरा गल्ली, ढुङ्गे सडक, चोक, परम्परागत घर, मन्दिर, दरबार, सार्वजनिक धारा, पाटी–पौवा आदि ऐतिहासिक स्वरूपमा सुरक्षित हुनुपर्छ । यसका लागि नगरपालिकाले लिएको नीति, कार्यक्रम, कार्यविधि, कार्ययोजना सहित संरक्षण कार्य भएको छ भन्ने प्रमाण प्रस्तुत गर्न सक्नु पर्दछ । हरेक सम्पदाको प्रामाणिकता (Authenticity) कायम गर्नु पर्दछ । यहाँका भवन, निर्माण सामग्री, शैली, रूपर· र सांस्कृतिक परम्परा सकेसम्म मौलिक रहनुपर्छ भनि सोही अनुरुपका पुराना भवनहरूको वैज्ञानिक संरक्षणका लागि कानूनी व्यवस्था गरिएको र अत्यधिक आधुनिक परिवर्तनले सम्पदाको मूल्य घटाउँछ भन्नेमा सचेत भएको प्रामाणिकता आवश्यक पर्दछ । विशेषगरी सम्पदा र सम्पदा स्थलमा अखण्डता (Integrity) कायम हुनुपर्छ । ऐतिहासिक शहरको समग्र स्वरूप टुक्राटुक्रा नभई सम्पूर्ण रूपमा सुरक्षित रहेको हुनुपर्छ । सम्पदाको कानुनी संरक्षण भएको हुनुपर्छ । स्थानीय, प्रदेश र संघीय सरकारले सम्पदा संरक्षणका स्पष्ट कानुन, मापदण्ड र कार्यान्वयन व्यवस्था मिलाएको हुनु पर्दछ । सम्पदाको व्यवस्थापन योजना Management Plan) तयार गरी प्रभावकारी रूपमा लागू गरेको हुनु पर्छ । प्रष्टरुपमा सम्पदा संरक्षण, पर्यटन व्यवस्थापन, जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन र समुदायको सहभागिता समेटिएको दीर्घकालीन योजना अनुरुप कार्यभएको हुनुपर्दछ । विशेषगरी विश्व सम्पदा मापदण्ड (Criteria) मध्ये कम्तीमा एउटा वा बढी पूरा गर्नुपर्छ । तानसेनका लागि विशेष गरी युनेस्कोका मापदण्डका आधार मध्ये (ii), (iv) र (v) सबैभन्दा सान्दर्भिक मानिन्छन् ।
(ii) संस्कृति र वास्तुकलाको आदान–प्रदानको उत्कृष्ट उदाहरण ।
(iv) मध्ययुगीन शहरी योजना र वास्तुकलाको उत्कृष्ट नमुना ।
(v) परम्परागत मानव बस्तीको उत्कृष्ट उदाहरण । साथै, अमूर्त सम्पदाहरु (Intangible Heritage) पनि जीवित रहेको हुनुपर्छ । विभिन्न जात्रा, पर्व, परम्परागत सीप, हस्तकला, संगीत, स्थानीय जीवनशैली आदि निरन्तर अभ्यासमा रही रहनुपर्छ । ऋभिलेखीकरणकालागि अनुसन्धान र दस्तावेजीकरण प्रक्रिया सुदृढ रहेको हुनुपर्छ । शहरको इतिहास, नक्सा, भवन सूची, पुरातात्विक अध्ययन तथा संरक्षण अभिलेख व्यवस्थित रहेको हुनुपर्छ । यसैगरी विश्व सम्पदा नामांकन प्रक्रिया अनुसार नेपाल सरकारले तानसेनलाई पहिले Tentative List मा राखी सकेको हुनुपर्ने र त्यसपछि विस्तृत नामांकन दस्तावेज (Nomination Dossier) युनेस्कोमा पेश गर्नुपर्छ । यसका लागि नगरपालिका र समुदायको सक्रियतामा विभिन्न कदम चाल्नु आवश्यक पर्दछ ।
उल्लेखित आधारहरुमा तानसेनका प्रमुख बलिया पक्षहरु छन् । किनकी,
तानसेन मध्ययुगीन पहाडी व्यापारिक शहरको स्वरूपमा रहेको शहर हो । यहाँ परम्परागत नेवारी र पहाडी वास्तुकलाको मिश्रण रहेको छ । यो ऐतिहासिक बजार हो, यहाँका गल्ली, मन्दिर, दरबार र सार्वजनिक स्थलहरूको सञ्जाल जीवन्त छ । श्रीनगरडाँडासँग जोडिएको प्राकृतिक र सांस्कृतिक परिदृश्य लोभलाग्दो रहेको छ । यहाँ जीवित सांस्कृतिक परम्परा र जात्राहरू छन् । तानसेनले यसका लागि अझ सुधार गर्नुपर्ने पक्ष पनि धेरै छन् । ति मध्ये अव्यवस्थित आधुनिक निर्माण नियन्त्रण गर्न कानूनी र वैधानिक नीति बनाउन जरुरी छ । यहाँका ऐतिहासिक भवनहरूको संरक्षण र पुनःस्थापनाको स्पष्ट कार्ययोजना निर्माण गर्न आवश्यक छ । विद्युत्, टेलिफोन तथा अन्य तारहरूको व्यवस्थापनका लागि कदम आवश्यक छ । ढुङ्गे सडक, चोक र सार्वजनिक स्थानहरूको मौलिक स्वरूप संरक्षणमा ध्यान जान आवश्यक छ । बजारको सवारी व्यवस्थापन र पैदलमैत्री ऐतिहासिक क्षेत्रको विकास गर्न आवश्यक छ । सम्पूर्ण ऐतिहासिक क्षेत्रको संरक्षण गुरुयोजना र बफर जोन प्रष्ट पारी कार्यान्वयनमा तदारुकता आवश्यक छ । यसर्थ तानसेन बजार पहाडको भौगोलिक बनोट अनुसार विकसित शहर हो । यो शहर पहाडको काखमा प्राकृतिक भूबनोट अनुसार बसाइएको छ । सडकहरू ढुंगाले छापिएका साँघुरा गल्लीका रूपमा विकसित छन् । यहाँ अहिले पनि परम्परागत बजार प्रणाली छ । तानसेनको मुख्य बजार लामो रेखीय (Linear Bazar) शैलीमा विकास भएको छ । पसल र घर एउटै भवनमा रहने परम्परा आज पनि धेरै ठाउँमा देखिन्छ । यहाँ परम्परागत वास्तुकलाको प्रयोग छ । बजारका अधिकांश घर इँटा, ढुंगा र काठबाट बनेका दुईदेखि तिन तले घर छन् । झ्याल, ढोका, छाना र काठका बुट्टा परम्परागत नेवारी तथा पहाडी शैलीका छन् । धार्मिक तथा सांस्कृतिक सम्पदाको घनत्व राम्रो छ । मन्दिर, विहार, पोखरी, पाटी, सत्तल, पुराना धाराहरू योजनाबद्ध रूपमा रहेका छन् । धार्मिक र सामाजिक जीवनसँग शहरको संरचना जोडिएको छ । यो एउटा ऐतिहासिक व्यापारिक केन्द्र हो । तानसेन भारतको गोरखपुर तथा नेपालको पहाडी र हिमाली क्षेत्र सम्मलाई जोड्ने प्रमुख व्यापारिक केन्द्र थियो । व्यापारले नै यसको शहरी विकासलाई गति दिएको थियो । जीवित सम्पदा (Living Heritage) कायम छ । यहाँ पुरानो संरचना मात्र होइन, आज पनि त्यही बजार, पर्व, जात्रा, संस्कृति र जीवनशैली निरन्तर चलिरहेको छ । यिनै कारणले युनेस्कोले तानसेनमा देखेका विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने प्रमुख आधारहरू देखेर सम्भावित लिष्टमा राखेको हो ।
निष्कर्ष
तानसेनको विशेषता कुनै एउटा मन्दिर वा दरबारमा मात्र सीमित छैन । यसको समग्र ऐतिहासिक शहरी बनोट, जीवित संस्कृति, व्यापारिक इतिहास, परम्परागत वास्तुकला र सांस्कृतिक विविधता नै यसको सबैभन्दा ठूलो सम्पदा हो । यही कारणले तानसेनलाई नेपालका विश्व सम्पदामा सूचीकृत हुन सक्ने सबैभन्दा सम्भावनायुक्त ऐतिहासिक शहरमध्ये एक मानिन्छ । यसका लागि शहरवासी, नगरपालिका लगायत सम्वद्ध निकायको तत्काल ध्यानाकर्षण भइ अग्रसरता लिन जरुरी देखिन्छ ।
(लेखक तानसेन पर्यटन बोर्डका सदस्य समेत हुन् ।)

