Shittalpati
किसानको पीडा सम्बोधन गर

अन्नदाताका रुपमा चिनिने किसानको मेहनतले नै देशका मानिसको भान्सा चल्छ । तर विडम्बना, सबैभन्दा बढी दुःख, अभाव र अन्याय सहनुपर्ने वर्ग पनि किसान नै बनेका छन् । किसानको पसिनाले खेत हरियाली बन्छ, तर उनीहरूको जीवन भने अझै संघर्षले भरिएको छ । आजका किसानले मल, बीउ, सिँचाइ, आधुनिक कृषि उपकरण र सहज ऋणको अभाव झेलिरहेका छन् । उत्पादन राम्रो भए पनि उचित बजार र मूल्य नपाउँदा उनीहरूको मेहनतको उचित प्रतिफल मिल्दैन । बिचौलियाको प्रभावका कारण उपभोक्ताले महँगो मूल्य तिर्छन्, तर किसानले भने न्यून मूल्यमा आफ्ना उत्पादन बेच्न बाध्य हुन्छन् । उत्पादन बढ्दा पनि किसान खुशी हुन नसक्नु विडम्वना हो । किसानले उचित मूल्य नपाएको भन्दै गत बुधबार काठमाडौंको माइतीघर सडकमा गोलभेँडा पोखेर सरकारविरुद्ध प्रदर्शन गरेका छन् । यसै गरी बेलाबेलामा सडकमा दूध बगाइएको दृश्य पनि नेपाली समाजले देखेकै हो ।  आफ्नै पसिनाको फल सडकमा फाल्न बाध्य हुनु किसानको मात्र होइन, राज्यको कृषि व्यवस्थापनको पनि विफलता हो ।

विदेशी तरकारी ल्याउने तर स्वदेशी उत्पादनको बजार व्यवस्थापनमा ध्यान नदिने जुन प्रवृत्ति देखिएको छ, त्यो आलोच्य छ । त्यसकारण किसान आफ्नो उत्पादन सडकमा फ्याँकेर आन्दोलन गर्न बाध्य छन् । किसानले बेलाबखत आन्दोलन गर्दै आए पनि यस विषयमा सरकारले सम्बोधन गर्न नसक्नु लज्जाको विषय हो । मुलुकमा उत्पादन नभएकै कारण सामान्य कुरा पनि आयात गर्नुपरिरहेको छ, जसले व्यापार सन्तुलन खल्बलिएको छ । यो अवस्थामा सीमित किसानले उत्पादन गरेका चिजबिजले समेत बजार नपाउँदा आगामी दिनमा कृषि पेसाबाट झनै विमुख हुने सम्भावना छ । यसले मुलुकको समग्र अर्थतन्त्रलाई नै अधोगतितर्फ धकेल्न सक्छ । अब किसानको समस्या समाधानका लागि सरकारले दिर्घकालीन योजना बनाएर बजारको मागअनुसार उत्पादन योजना बनाउने, किसान सहकारीलाई सुदृढ गर्ने, स्थानीय तहसम्म संकलन केन्द्र विस्तार गर्ने, कोल्ड चेन र प्रशोधन उद्योगमा लगानी बढाउने तथा आवश्यक पर्दा सरकारले बजारमा हस्तक्षेप गरेर किसानको उत्पादन खरिद गर्ने व्यवस्था गर्नुपर्छ । सरकारले विचौलियाको अत्यन्त नगर्दासम्म किसानले सधै समस्या झेल्नुु परेको छ । किसानलाई उत्पादनमा लाग्न प्रेरित गर्नेदेखि उत्पादित सामग्रीको उचित बजार व्यवस्थापनमा सरकार सक्रियपूर्वक लाग्नैपर्छ । नीतिमा भएका कमजोरी केलाएर आवश्यक परे नयाँ नीति बनाउने र त्यसको कार्यान्वयनमा पनि जोड दिनैपर्छ । त्यो अवस्थामा मात्रै किसानले रुँदै आफ्ना उत्पादन सडकमा फ्याँक्नुपर्ने अवस्थाको अन्त्य हुने छ । तसर्थ सरकारले किसानलाई अनुदान एवं सहुलियत दिने, बजारको व्यवस्था गर्नेदेखि बिचौलिया नियन्त्रण गर्ने कार्यमा सक्रियताका साथ लाग्न आवश्यक छ । यसो गर्न सकेमा केही हदसम्म भए पनि किसानको पिडा सम्बोधन हुन सक्छ ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update