Shittalpati
विपद्सँग खेलवाड नगरौं

नेपाल प्राकृतिक रूपमा सुन्दर देश भए पनि भूकम्प, बाढी, पहिरो, डढेलो, हिमपहिरो तथा चट्याङजस्ता विभिन्न विपद्को उच्च जोखिममा रहेको राष्ट्र हो । हरेक वर्ष वर्षायाम सुरु भएसँगै बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति हुने गरेको छ ।

अहिले पनि निरन्तरको वर्षासँगै देशका अधिकांश भागमा बाढी र पहिरोको कहर सुरु भएको छ । त्यससँगै कतै बस्ती बगेका छन्, कतै सडक खसेका छन् भने कतै सडक अवरुद्ध भएका छन् । धनजन मात्र होइन, बाढी र पहिरोसँगै हाम्रा मनहरू पनि बगेका छन् । मनसुनसँगै विगत वर्षहरूको नियति भोग्न थालेका हामीले फेरि एकपटक विपद्को कठोर परीक्षाका लागि तयार हुनुपर्ने बाध्यता आएको छ । यो हरेक वर्षको नियति हो । बाढी–पहिरो हाम्रा लागि अपरिचित र आकस्मिक घटना होइनन् । पुस्तौंदेखि नेपाली समाज यस्ता विपत्तिसँग जुध्दै आएको छ, तापनि राज्य यस्ता विपत्ति न्यूनीकरण एवं दीर्घकालीन समाधान गर्ने नीति बनाउन किन तयार छैन ? प्रश्न त्यहाँ हो । अधिकांश विपद्का घटनालाई जलवायु परिवर्तनसँग जोडेर राज्य पन्छिन मिल्दैन । विपद् अपवाद होइन, नेपालका लागि यथार्थ हो । विपद्लाई राजनीतिक लाभ–हानि, प्रचारबाजी वा आरोप–प्रत्यारोपको विषय बनाउनु गैरजिम्मेवार कार्य हो । विपद्सँग खेलवाड गर्ने होइन, सबै पक्ष मिलेर सहकार्य गर्ने बेला हो । विपद्का समयमा सबैभन्दा महत्वपूर्ण कुरा समयमै उद्धार, राहत र पुनःस्थापना हो । सरकार, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिकबीच प्रभावकारी समन्वय भएमा क्षति न्यून गर्न सकिन्छ । तर कतिपय अवस्थामा जिम्मेवार निकायबीच समन्वयको अभाव, सूचना प्रवाहमा ढिलाइ र राजनीतिक खिचातानीका कारण उद्धार तथा राहत प्रभावित हुने गरेका उदाहरणहरू प्रशस्तै छन् । यस्तो प्रवृत्तिले विपद्पीडितको पीडा झन् बढाउने मात्र काम गर्छ । विपद्का बेला सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह र भ्रामक सामग्री फैलाउने प्रवृत्ति पनि उत्तिकै चिन्ताजनक छ । यस्ता गतिविधिले उद्धार कार्यमा बाधा पुर्‍याउनुका साथै नागरिकमा अनावश्यक त्रास सिर्जना गर्छ । त्यसैले सबैले आधिकारिक स्रोतबाट प्राप्त सूचना मात्र साझा गर्ने र जिम्मेवार सञ्चार व्यवहार अपनाउने संस्कार विकास गर्न आवश्यक छ । विपद्ले कुनै जात, धर्म, वर्ग वा राजनीतिक आस्था छुट्याउँदैन। त्यसैले विपद्को सामना पनि साझा उत्तरदायित्वका साथ गर्नुपर्छ । तसर्थ विपद्सँग खेलवाड गर्ने प्रवृत्ति त्यागेर सहयोग, समन्वय र मानवीय संवेदनालाई केन्द्रमा राखेर अगाडि बढ्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update