Shittalpati
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन होस्

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । प्रत्येक आर्थिक वर्षका लागि सार्वजनिक गर्दै आएको मौद्रिक नीति यस वर्ष पनि सार्वजनिक गरिएको हो । मौद्रिक नीति अर्थतन्त्रलाई सही दिशामा अघि बढाउने महत्वपूर्ण माध्यम हो । मूल्य स्थिरता कायम गर्ने, वित्तीय प्रणालीलाई सुदृढ बनाउने, लगानी तथा उत्पादनलाई प्रोत्साहन गर्ने र रोजगारी सिर्जनामा सहयोग पु¥याउने उद्देश्यले मौद्रिक नीति ल्याइन्छ ।

सार्वजनिक गरिएको मौद्रिक नीतिले सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिलाई भरथेग गर्ने गरी लचिलो खालको मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा कर्जाको सुरक्षण स्वरूप व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउने प्रावधानलाई प्राथमिकताको साथमा ल्याएको छ । मौद्रिक नीतिमा चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्नेतर्फ पनि केही सहजीकरण गर्ने उल्लेख छ । राष्ट्र बैंकले रुग्ण उद्योगलाई नयाँ योजना सोच र भिजनसहित अघि बढाउन चाहने कम्पनीलाई पनि प्रवद्र्धन गर्ने खालको नीति मौद्रिक नीतिमा अङ्गीकार गरेको छ ।.यसपटकको मौद्रिक नीतिले कर्जा र बैंकिङ सुधारमा विशेष जोड दिएको छ । यस मौद्रिक नीतिले मुद्रास्फीति ५ दशमलव ५ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको छ । नीति तथा बैंकदर र स्थायी निक्षेप सुविधा दर यथावत् राख्ने नीति अवलम्बन गर्दै रुग्ण उद्योगहरूका कर्जा व्यवस्थापनमा विशेष व्यवस्था गरेको छ । यसका साथै दबाबमा रहेका कर्जाको पुनर्संरचनामा सहजीकरण गर्ने, डिजिटल बैंकिङ र शाखा व्यवस्थापनमा सुधार गर्ने, कम्तीमा सात महिनाको आयात धान्ने सञ्चिति कायम राख्ने, निजी क्षेत्रको लगानी विस्तारमा जोड दिनेजस्ता नीतिहरू नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिमा उल्लेख गरेको छ । यसका साथै शेयर धितो र विद्युतीय सवारी कर्जामा सहजीकरण गर्ने र तरलता व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने नीति पनि यस मौद्रिक नीतिले अघि सारेको छ । नीतिमा  उल्लेख गरिएका प्रायः बुँदा अक्षरशः कार्यान्वयन हुने हो भने पक्कै अहिलेको अवस्थामा राम्रै हुन्छ । अर्थतन्त्र जर्जर छ । नागरिक बेरोजगारीको जाँतोमा पिल्सिएका छन् । व्यवसायी मन्दीले रापिएका छन् । उद्यमधन्दा चिसिएका छन् । घरजग्गा कारोबार ठप्प जस्तै छ । बैंकमा पैसा थुप्रिए पनि ऋण लिनेको अभाव भयो । त्यसको प्रत्यक्ष असर बजारमा पर्नु स्वाभाविक थियो । नीतिले बैंकमा थुप्रिएको पैसा बजार पठाउने आशा गर्न सकिन्छ । तसर्थ अहिलेको शिथिल अर्थतन्त्र उकास्न यो मौद्रिक नीति प्रभावकारी कार्यान्वयन हुन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update