पाल्पा, अन्नबालीमा अध्याधिक मात्रमा युरिया मलको प्रयोग हुँदै आएकोमा पछिल्लो समय पाल्पाका किसानहरुले डिएपी (डाइ–अमोनियम फस्फेट) मलको प्रयोग बढाएका छन् । धान रोपाइँको सिजन सुरु भएको र यो समयमा डिएपीले बिरुवाको प्रारम्भिक वृद्धि र जराको विकासमा राम्रो प्रभाव पार्ने भएकाले किसानहरुले यसको प्रयोग बढाउँदै लगेका हुन् ।
युरियाको अत्यधिक प्रयोगले बाली ढल्ने, रोग–कीराको जोखिम बढ्ने तथा माटोको उर्वराशक्ति घट्ने चेतना बढ्दै जाँदा यसको प्रयोग क्रमशः घटाउँदै लगिएको किसानहरु बताउँछन् । तानसेन नगरपालिका–१४ अर्गेलीका किसान शोभाकर न्यौपानेले पछिल्ला वर्षहरूमा डिएपी मल प्रयोग गर्न थालिएको बताए । “धान रोप्दा सुरुमा डिएपी प्रयोग गर्दा बिरुवाले राम्रोसँग जरा फैलाउँछ र वृद्धि पनि राम्रो हुन्छ । त्यसैले अहिले धेरै किसानले डिएपीलाई प्राथमिकता दिन थालेका छन्,” उनले भने । “पहिलाजस्तो धेरै युरिया हाल्ने चलन अहिले कम हुँदै गएको छ । आवश्यक मात्रामा मात्र प्रयोग गर्दा उत्पादन पनि राम्रो हुने अनुभव गरेका छौं ।” अर्का किसान मेघनाथ भण्डारीले सन्तुलित मल प्रयोगप्रति किसानको बुझाइ बढ्दै गएको बताए । “पहिले युरिया धेरै प्रयोग गर्ने चलन थियो, तर अहिले कृषि प्राविधिकको सल्लाहअनुसार आवश्यक मात्रामा मात्रै प्रयोग गर्न थालेका छौं,” उनले भने । जिल्लामा पछिल्ला तीन आर्थिक वर्षको तथ्याड्ढलाई हेर्दा पनि डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाका शाखा प्रबन्धक सिर्जना पाण्डेका अनुसार आव २०८०/८१ मा दुई हजार मेट्रिक टन युरियाको माग गरिएको थियो । यसमध्ये एक हजार २९१ दशमलव ९५ मेट्रिक टन खपत भएको उनले बताइन् । सोही वर्ष ६०० मेट्रिक टन डिएपी माग गरिएकामा ६३७ दशमलव ७० मेट्रिक टन खपत भएको उनको भनाई छ । पोटास १२५ मेट्रिक टन माग गरिएकामा ९२ दशमलव ६५ मेट्रिक टनखपत भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा पनि युरियाको माग दुई हजार मेट्रिक टन नै रहे पनि खपत घटेर एक हजार १८६ मेट्रिक टनमा सीमित भएको तथ्याड्ढले देखाएको छ ।
डिएपीको माग ६०० मेट्रिक टन रहेकामा ६३७ मेट्रिक टन खपत भएको थियो भने पोटास १५० मेट्रिक टन माग गरिएकामा ९२ मेट्रिक टन मात्र खपत भएको थियो । चालु आव २०८२/८३ मा भने डिएपीको माग उल्लेखनीय रूपमा बढेर एक हजार मेट्रिक टन पुगेको छ । मागअनुसार आपूर्ति हुन नसक्दा हालसम्म ५७१ मेट्रिक टन मात्रै प्राप्त भएको छ भने ४३६ मेट्रिक टन खपत भइसकेको छ । यसैगरी चालु आवमा युरियाको माग एक हजार ५०० मेट्रिक टन गरिएको थियो । त्यसमध्ये एक हजार २८८ मेट्रिक टन प्राप्त भएको र एक हजार २६० मेट्रिक टन खपत भइसकेको शाखाले जनाएको छ । पोटास १५० मेट्रिक टन माग गरिएकामा ११० मेट्रिक टन प्राप्त भएको र ८३ मेट्रिक टन खपत भएको छ । धान रोपाइँको सुरुआती चरणमा प्रयोग हुने भएकाले पछिल्ला वर्षहरूमा डिएपी मलप्रति किसानको आकर्षण बढ्दै गएको शाखा प्रबन्धक पाण्डेले बताइन् । युरियाको प्रयोग भने बालीको वृद्धि चरणमा हुने भएकाले यसको माग र खपत फरक समयमा हुने गरेको उनको भनाइ छ । सन्तुलित मल प्रयोगबारे किसानमा चेतना बढ्दै जाँदा युरियाको अत्यधिक प्रयोग पनि घट्दै गएको पाण्डेले बताइन् । उनका अनुसार धान रोपाइँको सिजन भएकाले अहिले कम्पनीको कार्यालयबाट सहकारीमार्फत मल वितरण भइरहको छ । स्थानीय तहको सिफारिसमा कम्पनीले सहकारीलाई मल वितरण गरिरहेको छ ।


