Shittalpati
पाल्पामा हराउँदै ‘असारे भाका’

तानसेन (पाल्पा), तानसेन दमकडाकी ७० वर्षीया भुनु नेपाललाई अहिले धान रोप्दै गाउने गरेका असारभाकाको याद आउँछ । उनी आफैंलाई पनि नाच्ने, गाउने र रमाइलो गर्ने गरेको सम्झना ताजै छ । “उहिले मनोरञ्जनका साधन केही थिएनन्,” उनले भन्नुभयो, “त्यही भएर केटाकेटी, अधवैंसे, बूढापाका सबै यस्तै गीत गाएर रमाइलो गर्थे ।”

 ‘मज्जाले हिलोमा छुपुछुपु खेल्दै र धान रोप्दै अनि दही चिउरा खाँदै हामी असार पन्ध्रमा रमाइलो गथ्यौं’, नेपालले पुराना दिनहरु सम्झदै भनिन् “खेतको आलीमा सबैजना बस्थ्यौँ, घरबाट ल्याइएको दही र चिउरालाई नाग नागिनी र देवतालाई चढाएर खाने गरिन्थ्यो । असार पन्ध्र गते धान रोपेर थकित भएपछि खेतको डिलमा बसी आलुको अचारसँगै दही चिउरा खाएर लय हालेर असारे गीत गाउँदाको रौनक कम्ती रमाइलो हँुदैनथ्यो ।” हिजो आज भने पुराना भाकाहरु सुन्न छोडिएको नेपाल बताउन्छिन् । बाल्यकाललाई सम्झदै उनले असारे गीत गुनगुनाइन–
छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला ।।
‘असारे मासको दलदले हिलो छुनलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिस ऋण लाग्यो’

पूर्वखोलाका मनबहादुर  विकलाई  पनि असार १५ गते बाउसे गर्न जाँदा  रोपारा दिदी बहिनीहरुले असारे भाका हालेर गित गाएको क्षण ताजै छ । “धान रोप्दै लय हालेर असारे गीत गाउँदाको आनन्द छुट्टै हुन्थ्यो” उनले भने । अहिले ति हराउँदै जाँदा चिन्ता लागेको विकले बताए । यि त केही  उदाहरण मात्र हुन् । पछिल्लो समयमा असारे भाकाहरु गुञ्जिन छोडेका छन् । अहिलेका असारे भाका कमैले मात्र गाउँछन् । पहिले–पहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो । रोपाइँमा गाइने असारे भाकाको बेग्लै मिठास गुञ्जिन्थ्यो । तर समयक्रमसँगै रोपाइँ गीत हराएका छन् । रोपाहारका रूपमा लहरै खेत रोपिरहेका महिला, खेत जोत्ने हली, बाउसे र आली ताछ्ने युवाहरू सबै मिलेर असारे भाका गाउने चलन थियो । गीत गाउँदै, एकअर्कामा हिलो छ्याप्दै जुहारी खेल्दै गरिएको रोपाइँ निकै रमाइलो हुन्थ्यो । तर हिजो आज आधुनिकतासँगै असारे मौलिक गीतका ति भाकाहरु विस्तारै हराउँदै जाँदा पुराना पुस्ताहरु भने चिन्तित छन् । यति बेला पाल्पाका फाँटहरुमा धान रोपाइँ भइरहेको छ तर असारमा गाईने ति मौलिक पुराना भाकाहरु भने खासै सुनिएनन् ।

असार १५ का दिन राष्ट्रिय धान दिवस मनाउन नेतादेखि कर्मचारीसम्म किसानसँगै खेतमा पुगे । सरकारी तथा गैरसरकारी संघ संस्थाले पनि रमाइलोका लागि खेतमा पुगेर रोपाइँ गरे । तर ति पुराना मौलिकतालाई भने उनीहरुले विर्सेको देखियो । यहाँका फाँटहरुमा असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो, तर अहिले मध्य असार लागिसक्दा पनि असारे गीत नसुनिएको  निस्दी मित्यालका मानबहादुर सारु बताउन्छन् । मानो खाएर मुरी उब्जाउने असार महिनामा पहिले जस्तो उल्लास आजकल पाइन छाडेको उनको भनाई छ । पहिले गाउँका सबै परिवार मिलेर एकअर्काको खेतमा पालैपालो रोपाइँ गर्ने चलन थियो । रोपाइँका क्रममा असारे गीत गाउने, मादलको तालमा नाच्ने र दिनभरको कामपछि दही–चिउरा, अचार तथा स्थानीय परिकारसँगै बसेर खाने परम्पराले रोपाइँलाई केवल कृषि कार्य नभई सामाजिक र सांस्कृतिक उत्सवका रूपमा स्थापित गरेको थियो । तर अहिले कृषि क्षेत्रमा मेसिनको प्रयोग बढ्नु, युवाहरू वैदेशिक रोजगारी र शहरतर्फ पलायन हुनु तथा श्रमिक अभावका कारण सामूहिक रोपाइँको चलन घट्दै गएको छ । धान रोप्दा गाइने असारे गीत रोपाइँमा दिनभर थाकेको बाउसे र रोपाराहरू एकअर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङ्छङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू पनि लठ्ठ पर्ने गर्दथे । तर ती दिनहरू अब इतिहास नै बनेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update