Shittalpati
भाडा छुट दिन गुल्मी उद्योग वाणिज्य संघको आग्रह

रमेश विश्वकर्मा

गुल्मी । गुल्मी उद्योग वाणिज्य संघले व्यवसायिक प्रयोजनको लागि लिएका व्यवसायिक सटर तथा घरहरुको भाडामा विशेष छुट दिन आग्रह गरेको छ । संघका अध्यक्ष श्रीप्रसाद भलामीले बुधबार एक अपिलपत्र जारी गर्दै यस्तो बताएका हुन् । उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई ध्यानमा राख्दै गरिएको बन्दाबन्दीले विगत चार महिनादेखि व्यवसाय बन्द रहेको बताए । घरभाडा भुक्तानी नगरेकै कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएको समेत उनले बताए ।

सहज परिस्थितिमा नियमित भाडा तिरेको स्मरण गराउँदै असहज परिस्थितीमा व्यवसायीलाई जोगाउनु घरधनीको पनि कर्तव्य रहेको बताए । उनले वाणिज्य संघले कोरोना भाइरस (कोभिड-१९) को जोखिम रहेको यस अवस्थामा सुरक्षाका सबै उपाय अवलम्बन गर्दै व्यापार व्यवसाय सञ्चालन गर्न समेत सम्पूर्ण व्यवसायीहरुलाई अपिल गरे । संकटको समयमा उद्योगी व्यवसायीहरुले देखाएको धैर्यता र क्रियाशिलता स्वागतयोग्य रहेको अपिल पत्रमा उल्लेख गरिएको छ । लकडाउनको अवधिमा व्यवसायीहरुले भोगेका मानसिक तनाव र आर्थिक क्षती अंकमा गणना गर्न नसकिने अध्यक्ष भलामीले बताए । सम्पूर्ण उद्योग व्यापार पूर्णरुपमा बन्द हुदाँ व्यवसायमा परेको नकारात्मक प्रभावले उद्योगी व्यवसायीहरु उठ्नै नसक्ने गरी थला परी पलायनको दर बढ्दै गएको बताए । संकटको यो समयमा तीनवटै तहका सरकारसंग व्यवसायीहरुको लागि घोषित राहतका कार्यक्रमहरु तत्काल कार्यान्वयन गर्दै थप कार्यक्रमहरु ल्याउन संघले जोडदार माग गरेको छ ।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update