Shittalpati
गुल्मीका स्थानीय सरकारको बजेट ५ अर्ब ७४ करोड, शिक्षा, स्वास्थ्य, रोजगार प्राथमिकतामा

रमेश विश्वकर्मा
गुल्मी । जिल्लाका स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षका लागि ५ अर्ब बढीको बजेट ल्याएका छन् । आर्थिक वर्ष २०७७/०७८का लागि जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाले ५ अर्ब ७४ करोड २३ लाख ४५ हजार ७ सय ९० बराबरको बजेट ल्याएका हुन् । उनीहरुले शिक्षा, स्वास्थ्य, रोजगारीसँगै कृषि, पूर्वाधार विकास, सुशासन लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर उक्त बजेट ल्याएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि अनुमानित ५६ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । स्वास्थ्य, शिक्षा र रोजगारलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । नगर सरकारले चालु खर्चतर्फ ३६ करोड र पूँजीगत खर्चतर्फ २० करोडको बजेट सार्वजनिक गरेको हो । नगरभित्रका १४ वटै वडामा ५० लाखभन्दा माथिको गौरवको योजना सञ्चालन गरिने प्रमुख प्रशासकिय अधिकृत मरासीनीले बताए । मुसिकोट नगरपालिकाले पनि ६२ करोड ४० लाख १० हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगर सरकारले आगामी आर्थिक वर्षमा कृषि, उद्यम, रोजगारी, स्वास्थ्य शिक्षा, पूर्वाधार निर्माण लगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो । चालु खर्चतर्फ ३९ करोड २ लाख ४२ हजार र पूँजीगततर्फ २३ करोड ६७ लाख ६८ हजार छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए । मदाने गाउँपालिकाले ४१ करोड १ लाख ६४ हजार ६ सय ६० बराबरको बजेट सार्वजनिक गरेको छ । उसले कृषि, पशु, स्वास्थ्य, शिक्षा, रोजगारलाई केन्द्रमा राखेर बजेट सार्वजनिक गरेको हो । चालु खर्चतर्फ २५ करोड ५ लाख र पूँजीगत खर्चतर्फ १५ करोड ९६ लाख ६४ हजार ६ सय ६० बजेट छुट्टाइएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । धुर्कोट गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि ४९ करोड ६० लाख १८ हजार २ सय ९१ बराबरको बजेट सार्वजनिक गरेको छ । कृषि, रोजगारी, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । गाउँ सरकारले चालु खर्चतर्फ ३० करोड ६२ लाख र पूँजीगततर्फ १८ करोड ९८ लाख १८ हजार २ सय ९१ बजेट छुट्टाएको छ ।

चन्द्रकोट गाउँपालिकाले पनि ४५ करोड १ लाख ७९ हजार ९ सय ९० बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, सार्वजनिक सेवा प्रवाह, रोजगार, खानेपानी, कृषि, पशु, यातयात लगायतलाई मध्यनजर गरी बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए । सत्यवती गाउँपालिकाले ४३ करोड ८७ लाख २४ हजार ६ सय २५ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले स्वास्थ्य, कृषि, पशु, शिक्षा, रोजगारलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

कालिगण्डकी गाउँपालिकाले पनि ४९ करोडको बजेट ल्याएको छ । कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानी, विपद् व्यवस्थापन लगायतका क्षेत्रलाई केन्द्रमा राखेर बजेट ल्याइएको गाउँपालिका अध्यक्ष बेदबहादुर थापा मगरले बताए । रुरु गाउँपालिकाले पनि कृषि, रोजगारी, विपद् व्यवस्थापन, शिक्षा, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेर ४६ करोड ८२ लाख ८३ हजार बराबरको बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । गुल्मीदरबार गाउँपालिकाले ४२ करोड २२ लाख २३ हजार ८ सय ६४ बराबरको बजेट ल्याएको छ । स्वास्थ्य, शिक्षा, कृषि, रोजगार लगायतलाई मध्यनजर गरी बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । गाउँपालिकाले चालु खर्चका लागि २६ करोड २२ लाख ३६ हजार ८ सय ६४ र पूँजीगततर्फ १५ करोड ९९ लाख ८७ हजार छुट्टाएको छ । आर्थिक वर्षका लागि छत्रकोट गाउँपालिकाको ४८ करोड ४२ लाख २३ हजार ८ सय ६० बराबरको बजेट रहेको छ । कृषि, स्वास्थ्य, रोजगारी, शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृृत भेषराज पन्थले बताए । उनका अनुसार चालुतर्फ २९ करोड ६१ लाख ३३ हजार ८ सय ६० र पूँजीगत तर्फ १८ करोड ८० लाख ९० हजार छुट्टाइएको छ । मालिका गाउँपालिकाले पनि ४७ करोड ६९ लाख १७ हजार ५ सय बराबरको बजेट ल्याएको छ । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । इस्मा गाउँपालिकाले ४२ करोड १६ लाख बराबरको बजेट ल्याएको छ । कोरोना महामारीको नियन्त्रण, रोजगारी सिर्जना, कृषि, पशुपालन र उद्यम व्यवसायलाई उच्च प्राथमिकता दिई बजेट ल्याइएको गाउँपालिका उपाध्यक्ष विमला खत्रीले बताइन्  ।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update