नसर्ने रोगहरू आज विश्वव्यापी रूपमा जनस्वास्थ्यको प्रमुख चुनौती बनेका छन् । मुटुरोग, क्यान्सर, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग तथा उच्च रक्तचापजस्ता रोगहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैनन्, तर यिनको प्रभाव अत्यन्त गम्भीर हुन्छ । नेपालमा पनि नसर्ने रोगका बिरामीहरूको संख्या निरन्तर बढिरहेको छ, जसले स्वास्थ्य प्रणाली, अर्थतन्त्र र सामाजिक जीवनमा गहिरो असर पारिरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्कअनुसार हाल विश्वव्यापी मृत्युको करिब ७१ प्रतिशत नसर्ने रोगका कारण भइरहेको छ भने सन् २०३० सम्म यो दर ७९ प्रतिशत पुग्ने अनुमान गरिएको छ । नेपालमा पनि ३० देखि ७० वर्षको उमेरका करिब २२ प्रतिशत जनता अकाल मृत्युको जोखिममा रहेको तथ्याङ्कले समस्या कति गम्भीर छ भन्ने पुष्टि गर्छ । पछिल्ला वर्षमा नेपालमा मुटुरोग, मधुमेह, क्यान्सर, दम तथा मिर्गौलासम्बन्धी समस्याका कारण मृत्युदर उल्लेखनीयरुपमा बढेको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार मोटोपना र बढी तौलको समस्या विशेषगरी महिलामा तीव्ररुपमा बढेको पाइएको छ । सन् २०१६ मा २२.२ प्रतिशत रहेको दर २०२६ सम्म आइपुग्दा ७१ प्रतिशत पुग्नु चिन्ताको विषय हो । बदलिँदो र विलासी जीवनशैली, खानपिन, प्रशोधित खाना, चिल्लो पदार्थ तथा चिनीजन्य खानेकुराको प्रयोग र शारीरिक श्रमको कमी यसका मुख्य कारण हुन् । शहरीकरण र बदलिँदो जीवनशैलीका कारण मानिसहरू नियमित व्यायामभन्दा प्रविधिमा बढी निर्भर हुन थालेका छन् । फलस्वरूप मोटोपना, उच्च रक्तचाप र मधुमेहजस्ता समस्या कम उमेरमै देखिन थालेका छन् । नसर्ने रोगहरूको सबैभन्दा चिन्ताजनक पक्ष भनेको यिनीहरू प्रायः प्रारम्भिक चरणमा लक्षणविहीन हुनु हो । धेरै व्यक्तिले रोग गम्भीर अवस्थामा पुगेपछि मात्र उपचार खोज्ने गर्छन् । यसले उपचार खर्च बढाउनुका साथै मृत्युको जोखिम पनि उच्च बनाउँछ । तसर्थ नियमित स्वास्थ्य परीक्षण र समयमै रोग पहिचान अत्यन्त आवश्यक छ ।

