Shittalpati
तानसेनमा पर्यटकीय विकासका लागि सूचनापाटी राखिदै

पाल्पा । तानसेनमा पर्यटकीय विकासमा टेवा पुग्ने गरी विद्युतीय सूचनापाटी राख्न लागिएको छ । तानसेनको श्रीनगरडाँडामा पर्यटकीय विकासमा सहयोग पुग्ने गरी (सूचनापाटी) ‘तानसेन इलेक्ट्रोनिक बोर्ड’ को स्थापना गर्न लागिएको हो । बोर्डको संघीय सांसद तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । पाल्पा क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र साझेदारी पूर्वाधार विकास कोष कार्यक्रममार्फत बोर्ड निर्माण गर्न लागिएको हो । बोर्डको लम्बाइ साढे ४३ मिटर र उचाइ ८ मिटर रहने छ । आठ मिटर नै फराकिलो अक्षर बनाइने छ । सोलारबाट हेलोजिन लाइट बालेर उज्यालो दिइन्छ । बोर्डको शिलान्यास गर्दै संघीय सांसद पाण्डेले पर्यटकीय क्षेत्रमा थप विकास गर्नको लागि ‘तानसेन इलेक्ट्रोनिक बोर्ड’ को निर्माण गर्न लागिएको बताए ।

उनले तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि तानसेनका विषयमा जान्नका लागि सूचनावपाटीले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० लाख बजेटमा सूचनापाटी स्थापना गर्न लागिएको उनले बताए । तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले नगर सरकारले आगामी नीति कार्यक्रम तथा बजेटमा पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । नगरको समृद्विका लागि पर्यटन क्षेत्र एक विकल्पको रुपमा रहेको भन्दै नगर प्रमुख शाहीले यसको विकासका लागि प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढेको बताए । उनले योे बोर्डले आइकोनको रूपमा काम गर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update