Shittalpati
भौगोलिक अध्ययन गर्न पहिरो पीडितको माग

तम्घास । जिल्लाका विभिन्न क्षेत्रमा खसेको पहिराले ठूलो धनजनको क्षति पुर्‍याएकाले पीडितले भौगोलिक अध्ययन गर्न माग गरेका छन् । पहिराले ग्रामीण क्षेत्रका सडकमा क्षति पुर्‍याउँदा कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएको तथा बस्ती नै बस्न नमिल्ने गरी जमीन भासिएकाले सो क्षेत्रको भूगोल अध्ययन गरी बस्न मिल्ने नमिल्ने माग गरिएको हो । रेसुङ्गा नगरपालिका ७ वेदुखर्कमा असार ६ गते खसेको पहिराले १५ घर विस्थापित भएका छन् । सोही स्थानमा अझै पाँच घर पहिराको उच्च जोखिममा छन् । पत्यसरी विस्थापित तथा जोखिममा रहेका परिवारले आफूहरु बस्दै आएको बस्ती बासस्थानका लागि उपयुक्त भए वा नभएको बुझ्न भौगोलिक अध्ययन गर्नुपर्ने माग गरेका छन् । सदरमुकाम तम्घासमा यही असार ४ गतेदेखि ठूलो वर्षा भइरहेको थियो । वेदुखर्कका ४२ वर्षीय तुल्सीराम कुँवरले असार ५ गते साँझ घरमाथिबाट जमीनको केही भाग चर्किएको देखे । असार ६ गते बिहान हेर्दा उक्त भाग करीब एक मिटर तल झरिसकेको थियो । लगातार वर्षा भइरहेकाले घरभन्दा दायाँबायाँ र तलपट्टि पनि पहिरो गएको थियो । घर पहिरोको जोखिममा परेपछि कुँवरको चार जनाको परिवार उसैदिनदेखि छिमेकीका घरमा कोठा लिएर बस्न थालेको छ ।

कुँवरको नजीकै तीन सडक छन् । एउटा घरको आँगनबाट नै तम्घास–सन्धिखर्क जाने, अर्को घरभन्दा करीब ५० मिटर तलबाट तम्घासदेखि नयाँगाउँ–पिपलधारा हुँदै ढोरपाटन जोड्ने र अर्को घरभन्दा करीब १० मिटर माथिबाट अर्जुन डाँडा जोड्ने सडक छन् । पहिराले तम्घास–सन्धिखर्क जोड्ने र तम्घास–नयाँगाउँ जाने सडक अवरुद्ध बनाएको थियो । दुवै सडक मानव बस्तीका हिसाबले जोखिमयुक्त छन् । वर्षायाममा पनि ठूला–ठूला यन्त्र प्रयोग गरेर विनाअध्ययन बाटो मर्मत भइरहेको छ ।

सोहीँ ठाउँका पोमनारायण सुवेदीले पनि घरभन्दा माथिको पहाड नै फुटेर झरेकाले आफूहरु विस्थापित हुनुपरेको बताए । चालु आर्थिक वर्षमा पनि उक्त सडक स्तरोन्नतिका लागि ५० लाख विनियोजन भएको छ । समयको ख्याल नै नगरी यन्त्र प्रयोग गर्दा बस्ती नै जोखिममा पर्नेगरी जमीन फुटेको छ । ‘सरकारी कार्यालय र ठेकेदारको लापरवाहीले गर्दा धेरै ठाउँबाट जमीन फुटेको छ’, उनले भने, ‘अब त बस्ती बस्न उपयुक्त छ या छैन भन्नेबारे निर्णय गर्न अध्ययन गर्नुपर्छ ।’ रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले नगरपालिकाका तर्फबाट सक्दो सहयोग गरिने प्रतिवद्धता जनाए । उनले वेदुखर्कका पहिरो पीडित बस्तीबारे आफू गम्भिर भएको बताउँदै विस्थापित परिवारलाई तत्कालका लागि खाद्य पदार्थ समस्या भए नगरपालिकामा सम्पर्क गर्न आग्रह गरे । बस्ती बसेको जमीन कमजोर बन्दै गएकाले अध्ययनका लागि भूगर्भविद् ल्याउन आफूले पहल गर्ने नगर प्रमुख भुसालले आश्वासन दिए । -रासस

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update