पाल्पा, जेनजी आन्दोलनपछि वर्तमान संघीय संसद्मा अहिले ४० बर्ष उमेर मुनिका युवाहरुको बाहुल्यता रहेको छ । संघीय संसदमा युवाहरुको बहुमत भएपछि विद्यालयका बालबालिकाहरुमा अहिले राजनीति प्रति चासो बढ्दै गएको छ । कम उमेरमै राजनीतिमा प्रवेश गरेर देश विकासमा लाग्ने आत्मविश्वास बालबालिकाहरुमा बढ्दै गएको छ । सामाजिक सञ्जाल, मोवाईल इन्टरनेटको माध्यमबाट संसदको गतिविधी हेर्दै आएका तानसेन देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका बालबालिकाले नमुना युवा संसद कार्यक्रम सञ्चालन गरी संसदीय अभ्यास गरेका छन् । विद्यालयको आयोजना र टोनी हागन फाउण्डेसन नेपालले प्राविधिक सहयोगमा भएको नमुना युवा संसद कार्यक्रमले बालबालिकाको क्षमता विकासमा सहयोग पुगेको छ ।
नमूना संसदीय अभ्यासमा विद्यालयका कक्षा ६ देखी ११ कक्षा सम्म अध्ययन गर्ने बालबालिकाले संघीय संसदमा हुने सबै किसिमका नियय, प्रक्रिया पालना गर्दै कार्यक्रम सञ्चालन गरेका थिए । विद्यार्थीहरुले सभामुख, उप–सभामुख, संसद सचिवालयका कर्मचारी, प्रधानमन्त्री, मन्त्रीहरु, संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक, सत्तापक्ष सांसद, प्रतिपक्ष सांसद, मर्यादापालक, दर्शक र पत्रकारको भूमिका निर्वाह गरे ।
सभामुखको भूमिकामा रहेकी स्वस्तिका पाण्डे संसद भवनमा प्रवेश गर्ने वित्तिकै राष्ट्रिय गान बज्यो । संसद भवनमा राष्ट्रिय गान पछि सभामुखको भूमिकामा रहेकी .पाण्डेले शुन्य समय शुरु गरिन् । शुन्य समयमा सांसद रुपी बालबालिकाहरुले सार्वजनिक महत्वका विषयमा एक/एक मिनेट आ–आफ्ना धारणा राख्दै सरकारको ध्यान आर्कषण गराए । संसदमा उठेका विषयबस्तु तत्काल कार्यान्वयन गरी जनतालाई राहत दिन युवा सांसदहरुले माग गरे । सभामुख पाण्डेले शुन्य समयमा उठेका प्रश्नहरुको जवाफ दिने सम्बन्धित मन्त्री नभएको बताउदै शुन्य समय सकिएको घोषणा गरिन । सभाहलमा भएको यस्ता गतिविधीले बालबालिकादेखी शिक्षक शिक्षिकाहरुलाई संसद भवन भित्रै रहेको महशुस गराएको थियो ।
नमुना युवा संसदमा बालबालिकाले संकल्प प्रस्ताव समेत पेश गरे । संसदमा सत्ता पक्षका सांसदले शिक्षामा सबै नागरिकहरुको समान पहुँच अवसर सुनिश्चत गर्न शिक्षा निती र कानुन संसोधन गर्ने विषयमा सकल्प प्रस्ताव पेश गरे । शिक्षा सम्बन्धी संकल्प प्रस्तावमा बालबालिकाहरुले सक्षापक्ष र प्रतिपक्षी सांसदको रुपमा पक्ष र विपक्षमा कुराहरु राखे । सत्तापक्ष र प्रतिपक्ष संसदले राखेका प्रश्न तथा जिज्ञासाको शिक्षा मन्त्रीले जवाफ दिए । शिक्षा मन्त्रीले शिक्षामा समान अवसर र पहुँचको लागि संकल्प प्रस्ताव पारित गर्नुपर्ने आवश्यतका रहेको बताउँदै सभामुखलाई टेवल गर्न अनुरोध गरे । नमुना संसदमा सभामुखले शिक्षा नीतिको संकल्प प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिन् । संकल्प प्रस्तावको पक्षमा बहुमत भएपछि सभामुखले संकल्प प्रस्ताव पारित भएको घोषणा गर्दै अर्काे सूचना नभए सम्मका लागि संसदको बैठक स्थगित भएको घोषणा गरिन र नमुना युवा संसदको एक दिने कार्यक्रम सकियो ।
ससंदीय अभ्यास, संसद सञ्चालन गर्ने नीति नियम, प्रक्रिया विधिको बारेमा प्रत्यक्ष रुपमा आफै अभ्यास गर्न पाएको, शुन्य समयदेखी विधेयक प्रस्तुती, संसदले कुरा राख्ने तरिका, विधेयक माथिको बहसको बारेमा प्रत्यक्ष रुपमा जान्ने अवसर पाएको विद्यालयका छात्र संयोग बस्यालले बताए । भोलीको दिनमा राजनीति शास्त्र पढेर राजिनीति गरेमा पनि नमुना युवा संसद कार्यक्रमले नयाँ बाटो सिकाएको उनले बताए ।
विद्यार्थी बालबालिकाहरुलाई नमुना युवा संसद कार्यक्रमबाट निकै फरक अनुभव, सिकाई भएको छ, । संसदमा सभामुखदेखी सांसद सम्मको फरक–फरक भुमिकाले विद्यालयका बालबालिकालाई अझै कर्तव्यवोध बनाएको छ, । तोकिएको जिम्मेवारी तथा पदिय दायित्व निर्वाह गर्दा निकै संयमित, अध्यनशिल, नियम कानुनदेखी संविधान सम्मका कुराहरुलाई ध्यान दिएर काम गर्नु पर्दाे रहेछ भन्ने नयाँ सिकाई भएको नमुना युवा संसदमा सभामुखको भुमिकामा रहेकी छात्रा स्वस्तिका पाण्डेले बताईन् । विद्यालयले कितावी ज्ञानलाई समय–समयमा विद्यार्थी तथा बालबालिकाहरुलाई समय समयमा व्यवहारिक अभ्यास गराउदै आएको छ । विद्यार्थीहरुलाई स्थानीयदेखी राष्ट्रियस्तरका विभिन्न विषयबस्तुमा व्यबहारिक अभ्यास गराउदै आइएको विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले बताए । उनका अनुसार विद्यार्थीले टिभी, मोवाईलमा हेर्दै , पाठ्यपुस्तकमा पढ्दै आएको संसदीय अभ्यासलाई नियम कानुन र संविधान अध्ययन सहित संसदमा हुने गतिविधीहरुलाई नमुना युवा संसद कार्यक्रम मार्फत अभ्यास गराएको हो ।
विद्यालयले अन्य समयमा पनि बालबालिकालाई कितावी ज्ञान मात्र नभई विषयबस्तुमा आधारित रहेर व्यबहारिक अभ्यास गराउदै आएको र सो अभ्यासले बालबालिकालाई राम्रो अवसर प्रदान गरेको कार्यक्रम अवलोकन कर्ता विद्यालय व्यबस्थापन समितिकी अध्यक्ष उमादेवी अर्यालले बताईन् । बालबालिकाको चौतर्फी क्षमता विकास गर्न, कितावी ज्ञानलाई व्यवहारिक ज्ञानमा परिणत गर्न, साथै वर्तमान अवस्थामा नेपालको शिक्षाको अवस्था बारे बालबालिकालाई जानकारी गराउन विद्यालयमा नमुना युवा संसद कार्यक्रममा बालबालिकालाई सहभागी गराएको टोनी हागन फाउण्डेसन नेपालका सचिव एव पुर्व संसद फटिक थापाले बताए ।
नमुना युवा संसदमा विद्यार्थी बालबालिकाहले निकै राम्रो प्रतिभा देखाएका छन्, संसदको विधी नियम प्रक्रियाहरु पालना गरेका छन्, संविधानका धाराहरु समेत अध्यन गरेर कार्यक्रमलाई उत्कृष्ट बनाएको कार्यक्रम संयोजक कृष्ण प्रसाद पाण्डेले बताए । नमुना युवा संसदमा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र सहित विद्यालयले सम्मान गरेको छ ।
कार्यक्रमले मिहेनत गरे सबै कुरा सम्भव छ र सफल हुन सकिन्छ भन्ने आत्मविश्वास विद्यार्थीहरुमा जागृत भएको कार्यक्रम संयोजक पाण्डेले बताए । विद्यालयले बालबालिकाहरुलाई कितावी ज्ञानसँगै व्यबहारिक अभ्यास गराउँदै गएमा शिक्षामा सिकाई उपलब्धी प्रभावकारी हुने नमुना युवा संसद कार्यक्रमले सिकाएको छ । विद्यालयले सञ्चालन गरेको नमुना युवा संसद अभ्यासले बालबालिकालाई अझै बढी मिहेनती, जिज्ञासु, अध्यनशिल, जिम्मेवारी बनाएको छ ।


