Shittalpati
पाँचौं गुल्मी महोत्सव सुरु

गुल्मी,गुल्मीको सदरमुकाम तम्घासस्थित नुन्थलामा पाँचौं गुल्मी महोत्सव २०८३  शुक्रबारदेखि सुरु भएको छ । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा गुल्मीको सम्पन्नता र समृद्धिको निकास:शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित ब्यापारको विकास’ भन्ने मुख्य उद्देश्यका साथ महोत्सव सुरु भएको हो । यहीँ वैसाख २३ गतेसम्म सञ्चालन हुने महोत्सव अन्तर्गत कृषि, घरेलु तथा ब्यापार मेला रहेको छ ।

महोत्सवको रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख पन्थीले महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन, पर्यटन विकास र आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता महोत्सवले स्थानीय व्यवसायीलाई बजार उपलब्ध गराउनुका साथै जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने धारणा राखे । महोत्सव मूल आयोजक समितिका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले यस वर्षको महोत्सवलाई अघिल्ला संस्करणभन्दा अझ व्यवस्थित, आकर्षक र उपलब्धिमूलक बनाउने लक्ष्य राखिएको बताए । उनका अनुसार महोत्सवमा करिब २५० वटा व्यापारिक स्टल रहने छन्, जसमा घरेलु उत्पादन, कृषि सामग्री, हस्तकला, लघु उद्योगका वस्तुहरूलाई विशेष प्राथमिकता दिइनेछ ।

उपाध्यक्ष ताराप्रसाद भुसालले स्टल व्यवसायीहरूलाई उपभोक्तामैत्री मूल्यमा सामान बिक्री गर्न आग्रह गरिएको जानकारी दिए । कम नाफामा धेरै बिक्रीको अवधारणाले उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा पुग्ने विश्वास गरिएको उनले बताए । महोत्सवमा जलपरी, विभिन्न प्रकारका मनोरञ्जनात्मक पिङ, खेलकुद सामग्री तथा बालबालिकादेखि सबै उमेर समूहका लागि आकर्षक मनोरञ्जनका साधनहरू राखिएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत महोत्सवमा रहेको छ । महोत्सवमा स्थानीय उत्पादन, कृषि उपज तथा घरेलु उद्योगको प्रवद्र्धन र बजारीकरण, आन्तरिक तथा बाहय पर्यटन प्रवद्र्धन, साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्न, स्थानीय कला, संस्कृति, भेषभुषा र परम्पराको संरक्षणबारे विभिन्न स्टल तथा प्रस्तुति रहेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update