लोकतन्त्र भनेको प्रणाली र संस्था हो कि नेतृत्व भन्नेबारे नेपाली राजनीतिमा लामो समयदेखि बहस हुँदै आएको छ । लोकतन्त्र स्थापना भएको तीन दशकभन्दा बढी भइसक्दा पनि संस्थागत विकास भई जनताको अपेक्षाअनुसार आर्थिक विकास नभएका कारण यस्तो बहस थप सान्दर्भिक हुँदै गएको छ । राजनीतिक अस्थिरता र कुशासनको चक्रव्यूहमा फसिरहेको घडीमा यस्तो भाष्यको लोकप्रियता बढ्दै जानु अस्वाभाविक भएन । यस्तो भाष्य लोकप्रिय हुँदै जानु भनेको लोकतन्त्रको क्षयीकरण भएको सन्देश हो, जुन लोकतन्त्रको स्वास्थ्य र भविष्यका दृष्टिले चिन्ताजनक विषय हो । यद्यपि यस्तो बहस नेपालमा मात्रै होइन, विश्वव्यापी रूपमा हुँदै आएको छ । तर अहिले रास्वपाको शक्तिशाली सरकार गठन भएको छ । यसबाट लोकतन्त्रको रक्षा हुन्छ कि भन्ने आम अपेक्षा छ । यद्यपी विगतमा पनि बहुमत प्राप्त गरेका राजनीतिक दलहरुबाट सरकार गठन नभएका होइनन् । तर त्यति बेला पनि लोकतन्त्र माथि सधै प्रहार नै भयो । यो श्रीङ्खला अहिले पनि निरन्तर छ ।लोकतन्त्रले त जनताका पीरमर्कालाई नजिकबाट आत्मसात् गर्न सक्नुपर्छ । अहिले मुलुकमा तीन तहका सरकार छन् । तर पनि आमनागरिकले समृद्धि र विकासको वास्तविक अनुभूति गर्न सकेका छैनन् । अझै दुःखी, गरिब र विपन्न जनताको चुलोमा राम्ररी आगोसमेत बल्न सकेको छैन ।
भ्रष्टाचार, अनियमितता, कमिसनतन्त्रको जरा अहिले पनि मौलाएकै अवस्थामा छ । लोकतान्त्रिक व्यवस्थालाई जनताको प्रत्यक्ष शासन भएको व्यवस्थाका रुपमा अथ्र्याइए पनि त्यसो नहुुनुु विडम्वना हो । संसदीय प्रक्रियाको हकमा त्यो लागू भैरहेको देखिए पनि व्यवहारिकरुपमा भने दलीय नेतृत्व तहमा रहेका केही सीमित व्यक्ति मोटाउनु बाहेक लोकतन्त्रको खास उद्देश्यले काम गर्न नै सकिरहेको छैन । नेपालमा लोकतन्त्र स्थापना भएको दुई दशक पुरा भएको छ । लोकतन्त्राको दिनलाई स्मरण गर्न हरेक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ । आज पनि यस वर्षको दिवस मनाइँदै छ । तर लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भए पनि नागरिकको आधारभूत आवश्यकता परिपूर्ति हुन सकेको छैनन् । यो अत्यन्त दुःखको कुरा हो । यसबीचमा थुपै्र सरकार गठन भए पनि जनताले भने लोकतन्त्रको अनुभूत गर्न सकेका छैनन् । लोकतान्त्रिक व्यवस्थामा विकास, लोकतन्त्र÷ गणतन्त्रका अनेकौं विषय र सवालमा बहसहरू भए÷भइरहेका छन् । तर, ती बहसले लोकतन्त्र÷गणतन्त्रलाई संस्थागत गर्न उपयुक्त बाटो पहिल्याउन नसक्नु विडम्वना हो । यस पटक निर्वाचनबाट रास्वपाले झन्डै दुईतिहाइ सिट प्राप्त गरेपछि वालेन्द्र शाह प्रधानमन्त्री बनेका छन् । बलियो सरकारको काँधमा नेपाललाई विकास र,समृद्धिको यात्रातर्फ हिँडाउनुपर्ने र लोकतन्त्रको संस्थागत विकास गर्ने जिम्मेवारी छ । यसर्थ वर्तमान सरकार लोकतन्त्रको संरक्षणमा गम्भीर भएर लाग्न जरुरी छ ।


